गोकर्णेश्वरका जनताले खानेपानी नपाए म आफैँ पाइप फुटाउछु : रास्वपा सांसद पाण्डे


काठमाडौं। मेलम्ची खानेपानी आयोजना काठमाडौं उपत्यकाको तिर्खा मेटाउने लक्ष्यसहित सञ्चालनमा आए पनि पानी आउने मुख्य क्षेत्र गोकर्णेश्वरका बासिन्दा नै खानेपानीबाट वञ्चित भएको भन्दै रास्वपा सांसद राजु पाण्डे आक्रोश पोखेका छन् ।

सांसद पाण्डेले प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा गोकर्णेश्वरका स्थानीयले पर्याप्त खानेपानी नपाएको भन्दै सरकार र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

उनले पानी वितरणमा कर्मचारीको लापरबाही र मनपरीका कारण स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको आरोप लगाए। मेलम्चीको पानी बग्ने क्षेत्रका नागरिक नै गाग्री बोकेर पानी खोज्न बाध्य हुनु विडम्बना भएको उनको भनाइ थियो।

पाण्डेले गोकर्णेश्वरका नागरिकलाई प्राथमिकतामा राखेर खानेपानी वितरण नगरे आन्दोलन चर्किने चेतावनी पनि दिए। ूजनताले खानेपानी नपाउने हो भने ड्याम बन्द गरिदिन्छौँ, पाइप रोक्नुपर्ने हो कि फुटाउनुपर्ने हो, म आफैँ फुटाउनेवाला छु,ू भन्दै उनले आक्रोश व्यक्त गरे।

शनिबार गोकर्णेश्वर क्षेत्रमा पुग्दा पानीको अभावले स्थानीय वृद्धवृद्धा रोइरहेको दृश्य देखेको उल्लेख गर्दै उनले खानेपानीको समस्या अब सामान्य प्रशासनिक विषय नभई मानवीय संकट बनेको बताए।

सांसद पाण्डेले केयूकेएलभित्र कर्मचारीहरूको ुनेक्ससु सक्रिय रहेको आरोप पनि लगाए। आफ्नो इच्छाअनुसार कुनै टोलमा पानी छाड्ने र कुनै ठाउँमा नछाड्ने प्रवृत्तिले सर्वसाधारणले दुःख पाइरहेको उनको दाबी थियो।

उनले आरुबारीमा निर्माणाधीन २ करोड लिटर क्षमताको पानी ट्यांकीको काम रोकिएको विषय पनि उठाउँदै त्यसले गोकर्णेश्वर नगरपालिकाका १ देखि ९ वडासम्मका बासिन्दा प्रभावित भएको बताए। उनले समितिलाई तत्काल स्थलगत अनुगमन गरी समस्या समाधानका लागि पहल गर्न आग्रह गरे।

केयूकेएलमा नयाँ नेतृत्व आएपछि केही आशा पलाएको उल्लेख गर्दै उनले सुधार नभए स्थानीयलाई साथ लिएर थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिए।