काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर हटाउन माग गर्नेले त्यसको विकल्प पनि दिनुपर्ने बताएका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा भएको आर्थिक विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
कर संकलनबिना राज्य सञ्चालन गर्न नसकिने उल्लेख गर्दै उनले कर हटाउनुपर्ने माग गर्नेहरू सांसदहरुलाई कर कहाँ कहाँ लगाउने हो भन्ने सुझाव दिन पनि आग्रह गरे । उनले सरकारले नागरिकलाई असर पर्नेगरी कहीँ पनि कर नलगाएको पनि दाबी गरे ।
सरकारको लक्ष्य प्रतिष्पर्धा बढाउने, लागत घटाउने र भौतिक पूर्वाधार विकासमा सहजीकरण गरेर उपभोक्ताले तिर्नुपर्ने मूल्यलाई घटाउनेमा रहेको उनको भनाइ छ । करका विषयमा वैकल्पिक र व्यवहारिक सुझाव आएमा त्यसलाई सम्बोधन गर्न सरकार तयार रहेको उनले बताए ।
उनले भने, “कर नै नउठाईकन राज्य चल्दैन, कहीँ त उठाउनुप¥यो । माननीयज्यूहरुलाई मेरो विनम्र अनुरोध छ, कर उठाउँन हुँदैथियो भन्दै गर्दा कहाँ उठाउनुपर्ने हो, त्यो पनि सुभाव दिनुहोला, सुझाव चाँही त्यस्तोमा आयो भने राम्रो होला । हामीले गर्ने प्रतिष्पर्धा बढाउने, लागत घटाउने, भौतिक पुर्वाधारमा राज्यले सहजीकरण गरोस् ताकी उपभोक्ताले तिर्ने कर मुल्यमा समायोजन भएर आओस् । मर्म त्यो हो, तर कहीँ पनि कर लगाउँ भन्यो भने यो अलि अफ्ठ्यारो नै कुरा हो । यसमा माननीयज्यूहरुले उन्नत विकल्प दिनुभयो भने म आगामी सालको आर्थिक विधेयकमा यसलाई सम्बोधन गर्नेछु ।”
उनले दूरसञ्चार, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगाएका कर दुर्गममा सोही क्षेत्रको पूर्वाधार निर्माणको लागि प्रयोग गरिने बताए ।


प्रतिक्रिया दिनुहोस्