आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन


काठमाडाैँ । आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको निधन भएको छ ।

अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको अहिले बिहान ११ः२० मा बीर अस्पतालमा निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताए । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको अस्पतालमा उपचार भइरहेको थियो ।

नेपालीको उपचारमा खटिएका वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुर्‍याएको थियो । अस्पताल ल्याइएलगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

उपचारमा डा. दाहाल सहित २१ जनाको विषेश चिकित्सक टोली खटिएको थियो ।

नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।