सरकार जनभावनाविपरीत निरंकुशताको बाटोमा लागेको पूर्वमुख्यमन्त्री जम्मरकट्टेलको आरोप


काठमाडौं। वागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिग्राम जम्मरकट्टेलले वर्तमान सरकार जनभावनाविपरीत निरंकुश प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमिति सम्मान तथा व्यवसायी–मजदुर सचेतना कार्यक्रममा बोल्दै उनले जनताले ठूलो आशा र विश्वासका साथ दुईतिहाइको जनमत दिए पनि सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको दाबी गरे।

जम्मरकट्टेलले पुराना राजनीतिक शक्तिप्रति असन्तुष्ट जनताले परिवर्तनको अपेक्षासहित वर्तमान सरकारलाई समर्थन गरेको स्मरण गराउँदै सरकारको कार्यशैलीले जनविश्वासअनुसार परिणाम दिन नसकेको बताए।

सरकार नागरिकलाई वर्ग विभाजन गर्ने, थिचोमिचो गर्ने, धम्काउने र थुन्नेजस्ता दमनकारी कानुन निर्माणतर्फ केन्द्रित भएको आरोप लगाउँदै उनले जिम्मेवार मन्त्रीहरूबाटै “खुट्टा भाँचिदिन्छु” भन्ने अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको बताए।

सुकुम्बासी व्यवस्थापनका विषयमा उनले उचित प्रक्रिया र कानुनी विधि पूरा नगरी बस्ती हटाइएको आरोप लगाए। जग्गाको पहिचान, लालपुर्जा वितरण र वैकल्पिक बसोबासको व्यवस्था नगरी सुकुम्बासीलाई विस्थापित गर्नु गलत भएको उनको भनाइ थियो।

जम्मरकट्टेलले भने, “अहिले राजनीतिक अवस्था फेरिएको छ। जनताले दुईतिहाइको मत दिएर सरकारलाई पठाएका छन्। पुरानाले गरेनन्, अब नयाँले गर्छन् भन्ने विश्वासका साथ मत दिएका हुन्। केही गर्छन् होला भन्ने नयाँ आशा पनि थियो। तर सरकारको अवस्था राम्रो देखिँदैन। नेपाली जनताले जे सोचेर मतदान गरे, त्यसअनुसारको काम सरकारले गरेको देखिँदैन। आज वर्ग विभाजन गर्ने, थिचोमिचो गर्ने, धम्काउने, थुन्नेजस्ता कानुन निर्माण गर्नेतर्फ सरकार लम्किरहेको छ। हामीले सरकारका मन्त्रीहरूबाट ‘खुट्टा भाँचिदिन्छु’ भन्ने अभिव्यक्तिसमेत सुन्दै आएका छौँ।”

उनले भने, “सुकुम्बासीको व्यवस्थापन गर्ने कुराको हामीले विरोध गरेका होइनौँ। तर बसोबासको सुनिश्चित व्यवस्था, जग्गाको पहिचान र लालपुर्जा वितरण नगरी अपनाइएको विधि जबर्जस्तीपूर्ण देखियो।सरकारले जनतालाई धम्काउने, तर्साउने वा ‘सबैलाई थुन्छु, ठोक्छु’ भन्ने भाषा प्रयोग गर्नु उचित होइन। सरकारले कानुनको शासनअनुसार काम गर्नुपर्छ। तर अहिले सरकारका गतिविधिमा जताततै निरंकुश प्रवृत्ति देखिन थालेको छ।”

सरकारले कानुनको शासन र विधिको पालना गर्दै नागरिकको अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिँदै उनले जनतालाई तर्साउने र दमनकारी शैली अपनाउने गतिविधि तत्काल रोक्न आग्रह गरे।

– न्युज एजेन्सी नेपाल