काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजीबजारमा लगानीकर्ताले बजार बढ्दा मात्र होइन, घट्दा पनि प्रतिफल लिन सक्ने व्यवस्था गर्न ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको शुक्रबार बसेको बैठकमा सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बजारको वास्तविक अवस्थाअनुसार लगानीका अवसर विस्तार गर्न छिट्टै यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिए।
उनका अनुसार सर्ट सेलिङ लागू भएपछि लगानीकर्ताले सेयर सापटी लिएर बिक्री गर्न, त्यसपछि मूल्य घटेपछि पुनः खरिद गरेर फिर्ता गर्न सक्नेछन्। यस प्रक्रियामा बिक्री र खरिद मूल्यबीचको अन्तर नै लगानीकर्ताको नाफा हुनेछ।
अध्यक्ष भट्टले नेपाली पुँजीबजारमा सूचक निरन्तर बढिरहनुपर्छ भन्ने मनोविज्ञान रहेको उल्लेख गर्दै बजारको स्वाभाविक उतारचढावलाई स्वीकार गर्नुपर्ने बताए। ‘बजार तीन हजार, साढे तीन हजार वा पाँच हजार बिन्दुमा पुगे पनि सबै सन्तुष्ट हुने अवस्था हुँदैन। संसारका कुनै पनि पुँजीबजारका सूचक निरन्तर बढिरहँदैनन्,’ उनले भने।
उनले सर्ट सेलिङ प्रणाली लागू भएपछि बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने भएकाले बजारमा देखिने एकतर्फी दबाब र मनोवैज्ञानिक असर कम हुने विश्वास व्यक्त गरे।
अध्यक्ष भट्टले पुँजीबजारमा अफवाह फैलाएर मूल्य प्रभावित गर्ने गतिविधि नियन्त्रण गर्न पनि आवश्यक नीतिगत व्यवस्था ल्याइने जानकारी दिए। उनका अनुसार बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र सन्तुलित बनाउन बोर्डले नियामकीय सुधारका कामलाई अघि बढाइरहेको छ।


प्रतिक्रिया दिनुहोस्