आन्तरिक कलह समाधान नगरिए काँग्रेस विभाजन हुनसक्छः डा. शशांक कोईराला


काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिष्पर्धा समयमै समाधान गर्न नसके काँग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् । 

वीपी स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा पार्टीको संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् । उनले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी गगन थापासहित पार्टीको वर्तमान नेतृत्वले लिनुपर्ने बताए ।

उनले लोकतन्त्रका मूल्यमान्यता र लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेपबाट जोगाउनु र मुलुकलाई सहि दिशा दिन जिम्मेवार लोकतान्त्रिकवादी र राष्ट्रवादी राजनीतिक शक्तिहरु परिपक्व सहकार्यका साथ दूरदृष्टि राखेर अघि बढ्नु आजको आवश्यकता रहेको समेत बताए। उनले लोकतन्त्रमा विचारको भिन्नता स्वाभाविक भएपनि त्यसलाई विभाजनको आधार नभई साझा निष्कर्षमा पुग्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए ।

उनले वीपी कोईरालाले प्रतिपादन गर्नूभएको राष्ट्रिय मेलमिलापको नीति संवाद, सहिष्णुता र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै काँग्रेसले त्यही कुरालाई आत्मसाथ गर्नुको विकल्प नरहेको बताए। डा. कोईरालाले वीपी कोईरालाले आफ्नो सम्पूर्ण जीवन राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारका लागि समर्पित गरेको स्मरण गर्दै वर्तमान राजनीतिक नेतृत्वले लोकतान्त्रिक मूल्य–मान्यता, लोकतान्त्रिक संस्थाको संरक्षण तथा राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको एकता सुदृढ बनाउन आह्वान समेत गरे ।