काठमाडौँ । बुद्ध एयरले नयाँ एटीआर–७२–६०० विमान ल्याएको छ ।
नयाँ भित्र्याइएको बिमानले आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गर्ने कम्पनीले जनाएको छ ।
बुद्ध एयरले कल साइन ९ एन–एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो ।
यो एटीआर–७२–६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको कम्पनीले जनाएको छ । यस सिरिजका विमान कम इन्धन खपत गर्नाले यो वातावरण मैत्री मानिन्छन्।
बुद्ध एयरले आयात गरेको एटीआर–७२–६०० सिरिजको विमानमा आरएनपी–एआर एप्रोच प्रणाली जडान गरिएको छ । उक्त प्रणालीको सहयोगमा काठमाडौँ र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ ।
यसले कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोधहरू घट्नेछन् बुद्ध एयरको विश्वास छ । हाल ‘इन्ट्रयुमेन्ट ल्याण्डिङ सिस्टम’ (आइएलएस) प्रक्रियाअनुसार पोखराका लागि ३१०० मिटर तथा काठमाडौँ र भैरहवाका लागि १६०० मिटर ’भिजिबिलिटी’ आवश्यक पर्छ ।
यस्तै बुद्ध एयरले आगामी अगष्टको अन्तिमतिर एक एटिआर–७२–६०० सिरिजको विमान ल्याउनेसमेत जानकारी दिएको छ । त्यसैगरी आगामी केही महिनाभित्र यस्तै, सिरिजका थप दुई विमान पनि ल्याउने भित्र्याउने योजनाअनुसार कार्य गरिरहेको कम्पनीले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्