काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय, व्यवस्थित तथा लगानीकर्तामैत्री बनाउन भन्दै ‘प्राथमिक बजार सुधार सहजीकरण कार्यदल’ गठन गरेको छ ।
बोर्डले नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा नेपाल धितोपत्र बोर्डका तीन जना कर्मचारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का एक जना प्रतिनिधि, मर्चेन्ट बैंकर्स एसोेसिएसन अफ नेपालका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घको पूँजी बजार समितिका संयोजक सदस्य रहेका छन् ।
कार्यदललाई आवश्यकताअनुसार विभिन्न सरोकारवाला संस्था तथा विज्ञहरूलाई आमन्त्रित गर्ने अधिकार समेत प्रदान गरिएको बोर्डले जनाएको छ । यसअन्तर्गत नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान), विद्युत् नियमन आयोग, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान), स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान), सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लगायतका संस्थाका प्रतिनिधि वा विज्ञहरूलाई आवश्यकता अनुसार सहभागी गराउन सकिने व्यवस्था गरिएको छ।
आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति अन्तर्गत समावेश नियामकीय सुधार कार्यसूची कार्यान्वयन गर्ने उद्देश्यले गठन गरिएको कार्यदलको पहिलो बैठक बसेर प्राथमिक बजार सुधारका विभिन्न विषयमा विस्तृत छलफल भएको बोर्डले जनाएको छ ।
कार्यदलको कार्यक्षेत्रमा प्राथमिक बजार सुधारसँग सम्बन्धित नीति निर्माण र सुधारका विविध पक्षहरू समेटिएका छन् ।
यसमा धितोपत्रको सार्वजनिक निष्कासन (आइपिओे), बुक बिल्डिङ प्रणाली, मर्चेन्ट बैंकरको भूमिका, आइपिओ बाँडफाँट व्यवस्था, डिजिटल आइपिओ, आइपिओ योग्यतासम्बन्धी मापदण्ड, आइपिओ मूल्य निर्धारण, संस्थागत लगानीकर्ता, एङ्कर लगानीकर्ता, ड्यु डिलिजेन्स तथा निष्कासनपछिको अनुगमन लगायतका विषयहरू समावेश छन् ।
बोर्डले कार्यदलमार्फत प्राथमिक बजारसँग सम्बन्धित विद्यमान व्यवस्था, अभ्यास तथा नीतिगत पक्षहरूको समीक्षा गरी आवश्यक सुधारका लागि सुझाव सङ्कलन तथा कार्यान्वयनमा सहजीकरण गर्ने अपेक्षा गरेको छ।
यसबाट प्राथमिक बजारलाई थप प्रभावकारी, प्रतिस्पर्धी, पारदर्शी र लगानीकर्ताको विश्वास हासिल गर्ने दिशामा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरेको छ ।


प्रतिक्रिया दिनुहोस्