एडीबीले नेपालको आर्थिक वृद्धि प्रक्षेपण घटायो, आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने


काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि जारी आर्थिक वृद्धिको प्रक्षेपणमा संशोधन गरेर चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमात्र रहने बताएको छ ।

यो सरकारको लक्ष्यभन्दा ३ प्रतिशत कम हो । सरकारले हालै प्रतिस्थापन विधेयकमार्फत पेश गरेको बजेटमा चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ, जुन अघिल्लो सरकारले गत जेठ-१५ गते अध्यादेश बजेटमा राखेको ६.५ प्रतिशतको लक्ष्यभन्दा बढी हो ।

एडीबीले गत अप्रिलमा गरिएको ५.१ प्रतिशतको प्रक्षेपणलाई परिमार्जन गरेर ४.१ प्रतिशतमा झारेको हो । कोभिड-१९ संक्रमण दरमा केही कमी आए भए महामारीको उच्च संक्रमण दर जारी रहँदा पर्यटनसहित सेवा क्षेत्रको वृद्धिलाई संकुचित तुल्याउने भन्दै बैंकले वृद्धि अनुमान घटाएको हो ।

बैंकले बढ्दो सार्वजनिक सावधानी र जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजनाले समयक्रममा संक्रमण दर कम गर्ने अपेक्षा व्यक्त गरेको छ ।

बैंकले नेपाल सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को वित्तीय नीति (बजेट) विस्तारवादी भएको र त्यो स्वास्थ्य सेवाको हेरचाह, रोजगारी सिर्जना, गरिब तथा कमजोर वर्गमा सामाजिक सुरक्षाको विस्तार र कृषि उत्पादकत्व बढाउनमा केन्द्रित भएको टिप्पणी गरेको छ।

यस्तै, मौद्रिक नीति मौद्रिक नीति एक समर्पित ठूलो पुनर्लगानी सुविधा, प्राथमिकताप्राप्त परियोजनाको लागि सहुलियतपूर्ण ऋण र कोभिड-१९ प्रभावित व्यवसायका लागि सुविधाहरूसहित उदार रहेको बैंकको ठहर छ ।

आर्थिक वर्ष २०७८/७९ मा आर्थिक गतिविधिमा एक निरन्तर पुनर्बहाली हुँदै गएको आधारमा लगानी गतिविधि तीव्र रूपमा बढ्दै जाँदा आयातमा उच्च वृद्धि कायमै रहने बैंकले बताएको छ । निर्यात र रेमिट्यान्समा लगातार बलियो वृद्धि भए पनि चालू खाता घाटा उच्च रहेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५ प्रतिशत पुग्ने बैंकको अनुमान छ ।

बैंकले चालू आर्थिक वर्षमा मुद्रास्फीति भने ५.२ प्रतिशतमात्र रहने बताएको छ, यो नेपाल राष्ट्र बैंकको अनुमानभन्दा कम हो । राष्ट्र बैंकले मुद्रास्फीति ६ प्रतिशतमा सीमित रहने बताएको छ ।

वितेको आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत कायम भएको बैंकको संशोधित अनुमान छ, जुन यसअघि ३.१ प्रतिशत रहेको अनुमान थियो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा भने कोभिड-१९ महामारीका कारण नेपालको अर्थतन्त्र २.१ को ऋणात्मक दरले संकुचित भएको थियो ।

वितेको आर्थिक वर्ष राम्रो मनसुन तथा खेतीपाती गरिएको क्षेत्रफल बढेको कारण कृषि २.४ प्रतिशतले विस्तार भएको तथा बलियो घरेलु माग र निर्यातमा एक ठूलो वृद्धि कारण उद्योग क्षेत्रले बहाली गरि १.७ प्रतिशत र सेवा क्षेत्र २.५ प्रतिशतले वृद्धि भएका आर्थिक वृद्धिदर सकारात्मक बनेको बैंकले उल्लेख गरेको छ ।