‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रस्ताव


काठमाडाैँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन् ।

ललितपुरमा आज आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम यथावत रहेकोमा प्रश्न उठाए ।

नेपालमा सिंह नपाइने उल्लेख गर्दै उहाँले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि तर्क गरे । सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र हाउभाउमा समेत सुधारको आवश्यकता रहेको औंल्याए ।

प्रशासनिक केन्द्रको संरचना र भाषामा विद्यमान परम्परागत शैलीलाई चिर्नुपर्नेमा उनकाे जोड छ । 

ढकालले भने,“परिवर्तनपछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ कहाँ कहाँ नाम परिवर्तन भए । त्यो सिंहदरबार भन्ने चाहीँ, न हामीसँग सिंह छ, हैन ? हामीसँग सिंह छैन । त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन । त्यसलाई अनामनगर दरबार राख्दिएको भए हुन्थ्यो होला ।”

सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र प्रवृत्तिमा समेत परिवर्तनको आवश्यकता रहेको औंल्याए । उनले प्रशासनिक केन्द्रको ‘मुहान’ मै सुधार हुनुपर्ने र पुरानो सोच तथा भाष्यलाई चिर्नुपर्नेमा जोड दिए ।