असार महिनामा आँखुखोला चम्किँदा सोपानमा लगानीकर्ताको भिड


काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असारमा कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सार्वजनिक गरेको असार महिनाको कारोबार विवरणअनुसार उत्कृष्ट १० कम्पनीको सूचीमा आँखुखोला पहिलो स्थानमा परेको हो। उक्त अवधिमा कम्पनीको ४ अर्ब ४ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेको तथ्याङ्कमा उल्लेख छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स दोस्रो स्थानमा रहेको छ । कम्पनीको २ अर्ब ७० करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २ अर्ब ५७ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

उच्च कारोबार हुने कम्पनीको सूचीमा सोपान फर्मास्युटिकल्स चौथो स्थानमा रहेको छ । यसको कारोबार रकम १ अर्ब ७९ करोड ९ लाख रुपैयाँ रहेको छ ।

सेन्ट्रल फाइनान्सको १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ र सिटी होटलको १ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने शिवम् सिमेन्टको पनि १ अर्ब ५१ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै असारमा ऋणपत्रको पनि राम्रो कारोबार भएको देखिन्छ । नेप्सेको ततथ्याङ्कअनुसार ऋणपत्रतर्फ ‘८.५ प्रतिशत नेपाल बैंक डिबेन्चर २०८७’ को १ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

उच्च कारोबार रकम हुने शीर्ष १० मा लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंकको डिबेन्चर २०८६/८७ पनि परेका छन्। यी कम्पनीको क्रमशः १ अर्ब ४१ करोड ८१ लाख रुपैयाँ तथा १ अर्ब ४१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

लगानीकर्ताको रोजाई बन्यो सोपान फर्माक्युटिकल्समा

नेप्सेको तथ्याङ्कअनुसार असार महिनामा लगानीकर्ताको रोजाइमा सोपान फर्माक्युटिकल्स परेको छ ।

नेप्सेमा कारोबार भएका कुल धितोपत्र मध्ये सोपान फर्माक्युटिकल्स सङ्ख्याका आधारमा शीर्ष स्थानमा रहेको छ । नेप्सेले सार्वजनिक गरेको मासिक विवरणअनुसार असार महिनामा उक्त कम्पनीको सेयर १ लाख २६ हजार ८ सय ९४ पटक कारोबार भएको छ ।

कारोबार सङ्ख्याका आधारमा सानीगाड हाइड्रो दोस्रो स्थानमा रहेको छ । कम्पनीको सेयर ५७ हजार ४०५ पटक कारोबार भएको छ । त्यस्तै टक्सार पिखुवा खोला हाइड्रोपावरको ५० हजार ५२९ पटक र याम्बालिङ हाइड्रोपावरको ३७ हजार ७३१ पटक कारोबार भएको छ।

शीर्ष १० मा अधिकांश जलविद्युत् कम्पनी रहेका छन्। कालंगा हाइड्रो ३२ हजार १३० कारोबारसहित पाँचौँ, अप्पर लोहोरे हाइड्रोपावर ३० हजार ४६७ कारोबारसहित छैटौँ र सोलु हाइड्रोपावर २७ हजार ८८८ कारोबारसहित सातौँ स्थानमा छन्।

त्यस्तै पाल्पा सिमेन्ट इन्डस्ट्रिजको २६ हजार ७० कारोबार भएको छ भने आँखु खोला जलविद्युत् कम्पनीको २० हजार ७६६ पटक कारोबार भएको छ । शीर्ष १० को सूचीमा स्नो रिभर्स लिमिटेड १९ हजार ७३२ कारोबारसहित दशौँ स्थानमा रहेको छ ।