अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि माझ भने,‘नेपालमा अझ ठुलो लगानी गर्नुहोस्’



काठमाडौं । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई थप लगानी गर्न, उत्पादन विस्तार र रोजगारी सिर्जनाका लागि आह्वान गरेका छन्।

अर्थ मन्त्रालयमा आज २० ओटा कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले नेपालको आर्थिक रूपान्तरण कुनै एक मन्त्रालय, कुनै एक नीति वा कुनै एक संस्थाले मात्र सम्भव नभएको उल्लेख गर्दै यसको नेतृत्व सरकार र निजी क्षेत्रले गर्नुपर्छ भन्ने साझा निष्कर्षमा सबै पक्ष पुगेको बताए ।

उनले निजी क्षेत्रलाई देशको सबैभन्दा ठुलो करदाता, रोजगारदाता र लगानीकर्ताका रूपमा सम्मान व्यक्त गर्दै सरकार अब निजी क्षेत्रलाई शंकाको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने स्पष्ट पारे ।

“तपाईंहरू केवल सफल व्यवसायी वा कम्पनीका प्रतिनिधि मात्र होइन, नेपालका सबैभन्दा ठुलो करदाता, सबैभन्दा ठुलो रोजगारदाता, सबैभन्दा ठुलो लगानीकर्ता र राष्ट्र निर्माणका अग्रणी साझेदार हुनुहुन्छ,” अर्थमन्त्री वाग्लेले भने ।

अर्थमन्त्री वाग्लेकाअनुसार सरकारको प्राथमिकता अब केवल राजस्व सङ्कलन बढाउनु नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनुभएको बताए । उनले भने,“निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार हो। सरकारको प्राथमिकता केवल कर उठाउनु होइन, उत्पादन र लगानीको वातावरण निर्माण गर्नु हो ।”

छलफलकाक्रममा अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा सरकारको प्रमुख दायित्व रहेको बताए । उनले भने,“उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुमेय छ र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्छ ।,”

उनका अनुसार यही विश्वास निर्माण नगरी ठुलो लगानी आकर्षित गर्न वा आर्थिक रूपान्तरण हासिल गर्न सम्भव छैन । उनले भने,“ठूलो लगानी गर्नुहोस्, सरकार साथमा छ ।”

निजी क्षेत्रलाई सम्बोधन गर्दै अर्थमन्त्रीले विद्यमान उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न, आधुनिक प्रविधि भित्र्याउन र रोजगारी सिर्जना गर्न आग्रह गरे ।

उनले भने,“नेपालमा अझ ठूलो लगानी गर्नुहोस् । भएका उद्योग विस्तार गर्नुहोस् । नयाँ उत्पादनमा प्रवेश गर्नुहोस् । नयाँ प्रविधि भित्र्याउनुहोस्। नयाँ रोजगारी सिर्जना गर्नुहोस्। सरकार तपाईंहरूको साथमा उभिनेछ ।”

सरकारले सुरु गरेका सुधार कार्यक्रमहरूको प्रभावकारिता, व्यवसाय विस्तारमा रहेका मुख्य अवरोध तथा कर प्रशासन, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात र कानुनी व्यवस्थासम्बन्धी सुधारका विषयमा उनले सुझाव पनि मागे ।

उनले भने,“आजको बैठकमा म केवल सुझाव संकलन गर्न चाहन्नँ, म समाधानको कार्यसूची बनाउन चाहन्छु ।” उनले आगामी छ महिनाभित्र सरकारले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाँच निर्णयबारे निजी क्षेत्रबाट ठोस सुझाव अपेक्षा गरिएको पनि बताए ।

अर्थमन्त्री वाग्लेले इमानदारीपूर्वक कर तिर्ने व्यवसायी र संस्थालाई सरकारले राष्ट्र निर्माणका साझेदारका रूपमा सम्मान गर्ने नीति लिएको उल्लेख गरे । उनले भने,“सरकारले कर तिर्नेलाई केवल राजस्वको स्रोतका रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्छ ।”

उनले उद्योगी सफल हुँदा समाजले गर्व गर्ने, लगानीकर्ता सुरक्षित महसुस गर्ने, करदाता सम्मानित हुने र युवा उद्यमशीलताप्रति आकर्षित हुने वातावरण निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताए ।

“आगामी दशक नेपालमा ठुलो लगानी, ठुलो उत्पादन, ठुलो रोजगारी र ठुलो आत्मविश्वासको दशक बनाऔँ,” अर्थमन्त्रीले आह्वान गरे।