जिपिएस ट्रयाकरमा गैरकानुनी सरकारी निशान छाप राखेपछि काठमाडौँ न्युरोडका कम्प्युटर व्यापारी कर्माचार्य पक्राउ


काठमाडौँ । निशान छापको दुरुपयोग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२२ बस्ने २९ वर्षीय दीपेन्द्र कर्माचार्य रहेका छन् ।

उनी काठमाडौँ न्यूरोडको सङ्कटामा कम्युटर व्यवसाय गर्दै आएका थिए । सरकारको पूर्व स्वीकृति नलिई आर्थिक लाभ लिने उद्देश्यले सर्वसाधारणलाई झुक्याउन निशान छापको दुरुपयोग गरेको आरोपमा कर्माचार्य पक्राउ परेका हुन् ।

उनले नेपाल सरकारबाट मान्यता प्राप्त जिपिएस ट्रयाकर डिभाइस रहेको भनी झूटा प्रचार प्रसार गरेको प्रहरीको दाबी छ ।

व्यावसायिक प्रयोजनका लागि चीनबाट आयात हुने जिपिएस ट्रयाकर डिभाइसमा नेपाल सरकारको निशान छाप राख्न लगाएर दुरुपयोग गरेको प्रहरीको भनाई छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन २२ गते उनलाई काठमाडौँ महानगरपालिका–२२ टेवहालबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट नेपाल सरकारको निशान छाप अङ्कित ५२ थान जिपिएस ट्रयाकर समेत बरामद गरेको छ ।

टोटल आइटी सेन्टर सञ्चालक कर्माचार्यलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।