काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्राथमिक सार्वजनिक निष्काशनको मूल्य निर्धारण प्रणालीलाई वैज्ञानिक तथा बजारमा आधारित बनाउने लक्ष्यसहित ‘प्राथमिक पूँजी बजार सुधार नीति, २०८३’ सार्वजनिक गरेको छ।
बोर्डले प्राथमिक बजारको विकास तथा सुधारका लागि गठन गरेको प्राथमिक बजार सुधार सहजीकरण कार्यदलले तयार पारेको नीति सार्वजनिक गरिएको हो। कार्यदलमा मर्चेन्ट बैंकर तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसहित बजारका सम्बद्ध पक्षहरूको सहभागिता रहेको बोर्डले जनाएको छ।
नीतिले नेपालको प्राथमिक पूँजी बजारलाई आधुनिक, प्रभावकारी र लगानीकर्तामैत्री बनाउँदै उद्योग, पूर्वाधार, नवप्रवर्तन, साना तथा मझौला उद्यम तथा हरित र दिगो विकास परियोजनाका लागि दीर्घकालीन पूँजी उपलब्ध गराउने लक्ष्य लिएको छ।
बोर्डका अनुसार सार्वजनिक निष्काशन प्रक्रियालाई पारदर्शी, डिजिटल र समयबद्ध बनाउने तथा आईपीओको मूल्य निर्धारणलाई वैज्ञानिक र बजारमा आधारित बनाउने नीति लिइएको छ। यसका लागि योग्य संस्थागत लगानीकर्ता तथा एङ्कर लगानीकर्ताको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने व्यवस्था अघि सारिएको छ।
नीतिले सार्वजनिक निष्काशनबाट संकलित पूँजीको प्रभावकारी उपयोग तथा त्यसको अनुगमन प्रणाली विकासमा समेत जोड दिएको छ। साथै लगानीकर्ता संरक्षण, बजारप्रतिको विश्वास अभिवृद्धि र सार्वजनिक निष्काशन प्रक्रियामा सुशासन तथा पारदर्शिता कायम गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, प्रविधिमुखी, नवप्रवर्तनमुखी तथा उच्च वृद्धि सम्भावना भएका उद्यमलाई पूँजी बजारमा पहुँच विस्तार गर्ने नीति लिइएको छ। वातावरणीय, सामाजिक तथा सुशासन र दिगोपनसम्बन्धी सूचना प्रवाहलाई समेत क्रमशः संस्थागत गर्ने बोर्डले जनाएको छ।
नीतिले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न सक्षम नियामकीय वातावरण निर्माण गर्दै नेपालको प्राथमिक पूँजी बजारलाई दक्षिण एसियाकै प्रतिस्पर्धी र विश्वसनीय बजारका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसमेत अघि सारेको छ।
बोर्डले नीति कार्यान्वयनमा आएपछि नेपालको प्राथमिक पूँजी बजार थप पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बन्ने र राष्ट्रिय आर्थिक विकासका लागि आवश्यक दीर्घकालीन पूँजी परिचालनको महत्वपूर्ण आधार तयार हुने अपेक्षा गरेको छ।


प्रतिक्रिया दिनुहोस्