काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्षसहित ६ सञ्चालक र प्रमुख कार्यकारी अधिकृत(सिइओ)विरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
विज्ञप्ति जारी गर्दै राष्ट्र बैंले मुद्दा अदालतमा विचाराधीन रहेकाले त्यसको प्रकृति, अवधि तथा कानुनी पक्षका आधारमा आवश्यक निर्णय र व्यवस्थापनसम्बन्धी कदम कानुनबमोजिम अघि बढाइने जनाएको हो । आवश्यक परे सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालन सम्बन्धी थप उपाय अवलम्बन गरिने पनि स्पष्ट पारेको छ ।
स्मार्ट सेल प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग दायर भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै राष्ट्र बैंकले बैंकको सञ्चालन र व्यवस्थापनलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ ।
राष्ट्र बैंकले भनेको छ, “मुद्दाको प्रकृति, समयावधि र गम्भीरताका आधारमा कानुनी रायसमेत लिई कानुनबमोजिम सञ्चालक समिति, उच्च व्यवस्थापन एवं बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिनेछ ।”
राष्ट्र बैंकका अनुसार हाल बैंकको तरलता अवस्था र वित्तीय सबलताका प्रमुख सूचकहरू तोकिएको मापदण्डअनुसार सन्तोषजनक छन् । बैंकको दैनिक कारोबार तथा ग्राहक सेवामा कुनै जटिलता उत्पन्न हुने अवस्था नरहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस्