राेल्पा । रोल्पाको थबाङ–४ उवामा गएको पहिरोमा परेर १० जनाको मृत्युभएको एक दिन नबित्दै सुनछहरीमा आएको पहिरोले ३ जना बेपत्ता भएका छन् ।
सुनछहरी गाउँपालिका-२ फलबाङमा घर पुरिँदा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । आज बिहान बिहान ८ः१० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिएको हो ।
पुरिएको घरमा वीरबहादुर घर्ती मगर, उनकी श्रीमती शनि घर्ती मगर र छिमेकी ललि घर्ती मगर राति बास बसेको र तीनै जना पहिरोमा परी बेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै, सुनछहरी गाउँपालिका–२ गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको छ । घटनाको थप विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
अस्ति बेलुकी मात्रै थबाङ गाउँपालिका –५ उवा कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा १० जनाको मृत्यु भएको थियो भने अझै ३ जना बेपत्ता छन् । २ जना घाइते भएका छन् ।
पूर्वमुख्यमन्त्री र डिआइजीको टोली घटनास्थलतर्फ
थबाङ–४ उवामा आएको पहिरोले ठुलो क्षति पुराएपछि पूर्वमन्त्री जोखबहादुर महरा र लुम्बिनी प्रदेशका प्रहरी नायबमहानिरीक्षक भूपेन्द्रबहादुर खत्रीसहितको टोली घटनास्थलतर्फ लागेको छ । हिजो नै गएको टोली रातभर पहिरोले बाटोमै अड्किएको थियो । उद्दार चलिरहेकै बेला पहिरोले फेरि सुनछहरीमा क्षति पु¥याएको हो ।


प्रतिक्रिया दिनुहोस्