काठमाडौँ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठ र जफत गरिएका उपकरण पेश गर्न आदेश दिएको छ ।
श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीहरूलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत आगामी भदौ १ गते बन्दीलाई सशरीर उपस्थित गराई निर्धारित मितिभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
साथै, तोकिएको मितिसम्म विपक्षीहरूले आदेश जारी हुनु नपर्ने आधार र कारण पनि खुलाउनुपर्नेछ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निवेदनपत्र, मिसिल तथा निवेदकका कानुन व्यवसायीहरूको बहस सुनेपछि विपक्षीहरूका नाममा आदेश जारी गर्दै रिट निवेदनअनुसार आदेश जारी हुनुपर्ने वा नपर्ने विषयमा आफ्नो स्पष्ट धारणा पेश गर्न निर्देशन दिएको छ ।
सर्वोच्च अदालतले उक्त प्रकरणसँग सम्बन्धित अनुसन्धानलाई समेत गम्भीर रूपमा लिएर बन्दीविरुद्ध परेको जाहेरी दरखास्तसहितको सम्पूर्ण अनुसन्धान फाइल इजलाससमक्ष प्रस्तुत गर्न निर्देशन दिएको छ ।
अदालतले अनुसन्धानका क्रममा बरामद गरिएका सिपियू, ल्यापटप, आइप्याड र मोबाइल फोन समेत इजलाससमक्ष पेश गर्न आदेश दिएको छ । ती सामग्रीहरू तोकिएको दिन अदालतमा देखाई पुनः फिर्ता लैजान सकिने व्यवस्था मिलाउन पनि आदेशमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्