काँग्रेसलाई एकजुट बनाउनु मेरो मुख्य कर्तव्य होः डा. शशांक कोईराला


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीको आन्तरिक एकता सुदृढ बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताएका छन् ।

शुक्रवारदेखि शुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले काँग्रेस एकीकृत भएको खण्डमा कसैले पनि पराजित गर्न नसक्ने दाबी गरेका हुन । सम्बोधनका क्रममा डा.कोईरालाले पार्टी पूर्वसभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसङ्गहरू स्मरण गरे ।

वीपी कोईरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको उल्लेख गर्दै उनले बनारसमा रहँदाका स्मृतिहरू साझा गरे । वीपीको निर्देशनमा आफूले देउवालाई बनारस घुमाएको र त्यस क्रममा हेरिएका चलचित्रहरूका बारेमा देउवाले देखाउनुभएको सुक्ष्म र हुबहु विश्लेषणबाट आफू प्रभावित भएको कोईरालाले बताए ।

संस्थापन इतर समूहको भेला भएपनि डा। कोईरालाले देउवाको नेतृत्वप्रति पूर्ण समर्थन व्यक्त गरे । देउवाको उपस्थितिले नै कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्ताहरूलाई स्वागत गर्दै कोईरालाले कार्यक्रम व्यवस्थापनमा भएका कमीकमजोरीप्रति क्षमायाचना समेत गरे । उनले पार्टीभित्रको उत्साह र एकताले नै काँग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड दिए ।