नेपालमा झण्डै ५ अर्ब रुपैयाँ बराबर बिस्कुटको ‘ग्रे मार्केट’,स्वेदशी उद्योग मारमा


काठमाडौँ । नेपाली बजारमा झण्डै ५ अर्ब रुपैयाँ बराबरको अनधिकृत बिस्कुट भित्रने गरेको अनुमान गरिएको छ ।

२५ अर्ब रुपैयाँ बराबरको बिस्कुट बजारमा झण्डै ५ अर्बको ‘ग्रे मार्केट’ रहेको बिस्कुट उद्योगीहरूको अनुमान छ ।

सरकारले कडाइ गरेपछि केही कम भए पनि झण्डै २० प्रतिशत बिस्कुटको बजार अनधिकृतरूपमा भित्रिएको अनुमान छ ।

नेपालमा स्वदेशी उद्योग, बहुराष्ट्रिय कम्पनी र तेस्रो मुलुकबाट बिस्कुट नेपाली बजारमा पुग्छन् । नेपाल विस्कुट उत्पादक सङ्घको अनुमानमा अहिले झण्डै २५ अर्ब रुपैयाँ बराबरको बिस्कुट बजार छ ।

यसमध्ये खुल्ला सिमानाका कारण बजारमा भारतीय बिस्कुट अवैध तरिकाले नेपालमा भित्रने गरेका छन् ।

नेपाल बिस्कुट उत्पादक सङ्घका महासचिव बिक्रम कर्मचार्यले भने,“सरकारले कडाइ गरे पनि अनधिकृत विस्कुट भित्रने क्रम रोकिएको छैन । ठुलो परिमाणमा भारतीय बिस्कुटहरू अवैध रूपमा (भन्सार नतिरी) नेपाल भित्रिदा यी बिस्कुटहरू स्वदेशी उत्पादनभन्दा सस्ता हुने भएकाले वैधानिक रूपमा चल्ने नेपाली उद्योगहरूलाई बजारमा प्रतिस्पर्धा गर्न निकै कठिन भएको छ ।”

सरकारले भने बिस्कुट उद्योगलाई प्रवर्धन गर्न खाेजिरहेकाे छ । “सरकारले प्रवर्धन गर्न खोजेको छ । हामी यसलाई धन्यवाद नै दिन चाहन्छौँ । बिस्कुटमा आयातमा सरकारले ४० प्रतिशत भन्सार शुल्क लिँदा स्वदेशी उद्योगलाई फाइदा नै भएको छ । यद्यपी बजारमा कच्चा पदार्थ महँगो भएका कारणले ग्रे मार्केटले समस्यामा पारेकाे छ ।”

अहिले नेपालमा स्वदेशी बिस्कुटको बजार हिस्सा ६० प्रतिशत पुगेको छ । ६१ वर्षको यतिहास बोकेको नेपाली विस्कुट उद्योगले झण्डै ६० प्रतिशत हिस्सा ओगटेको हो ।

नेपालमा बिस्कुट उद्योग द्रुत गतिमा विकास भइरहेको र उच्च प्रतिस्पर्धात्मक क्षमता भएको एक प्रमुख क्षेत्र मानिन्छ । ४० प्रतिशत बजार भने विदेशी बिस्कुटले ओगटेको छ ।

विशेष गरी भारतीय बिस्कुटको हिस्सा बढी छ । नेपालकै पहिलो बिस्कुट उद्योग नेबिको लिमिटेड स्थापना भएको थियो । यो विक्रम संवत २०२२ (सन् १९६४) मा काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा नेबिको लिमिटेड बिस्कुट उद्योग स्थापना भएको थियो । यो अहिले पनि सञ्चालनमा छ ।

नेपाली बजारको सम्भावनालाई हेरेर भारतीय बहुराष्ट्रिय ब्रान्डहरूले पनि नेपालमै प्लान्ट स्थापना गरेका छन् । जस्तै, पार्ले र ब्रिटानियाले नेपालमै बिस्कुट उत्पादन गरिरहेका छन् । स्वादेशी बिस्कुटहरू थपिनेक्रम रहे पनि बन्द हुनेको सङ्ख्या पनि उत्तिकै छ ।

पछिल्लो एकअध्ययन अनुसार, नेपाली बिस्कुट र क्रयाकर्स बजार आगामी वर्षहरूमा (२०२६–२०३२ सम्म) वार्षिक करिब ६.८ प्रतिशतको चक्रवृद्धि दर (सिएजिआर)ले बढ्ने प्रक्षेपण गरिएको छ ।

नेपाली बिस्कुट बजार निर्यातको बाटोमा समेत छ । पछिल्लो समय केही नेपाली कम्पनीहरूले कोदो,फापर र परम्परागत स्वादका कुकिज तथा बिस्कुटहरू बनाएर अस्ट्रेलिया, दुबई, र युरोपियन देशहरूमा रहेका नेपाली तथा विदेशी उपभोक्तामाझ निर्यात गरिरहेका छन् ।

नेपाल–भारत खुला सिमानाका कारण ठुलो परिमाणमा भारतीय बिस्कुटहरू अवैध रूपमा (भन्सार नतिरी) नेपाल भित्रिने गरेका छन् ।

स्वादेशी बिस्कुट उद्योगलाई प्रवर्धन गर्न खोजे पनि अनधिृत रूपमा भित्रने बिस्कुटले नेपालमा महत्वपूर्ण हिस्सा खोजेको छ ।

भारतीय प्लान्टहरू ठुलो हुने र लागत पनि कम हुन्छन् तर नेपालमा साना उद्योग, त्यसमा पनि चिनी, मैदा लगायत कच्चा पदार्थ महँगो हुँदा अनधिकृत रूपमा भित्रने बिस्कुट ठुलो समस्या हुने गरेको र प्रधिस्प्रधा गर्न कठिन भएको उद्योगीहरूको भनाई छ ।

यी बिस्कुटहरू स्वदेशी उत्पादनभन्दा सस्ता हुने भएकाले वैधानिक रूपमा चल्ने नेपाली उद्योगहरूलाई बजारमा प्रतिस्पर्धा गर्न कठिन रहेको उद्योगीहरूको गुनासो छ । यसकाकारण कतिपय नेपाली बिस्कुट उद्योगहरू बन्दसमेत भएका छन् ।

विदेशी ठुला कम्पनीहरूले नेपालमै आएर प्लान्ट खोल्न थालेपछि साना र मध्यम वर्गका विशुद्ध नेपाली लगानीका उद्योगहरूलाई बजार टिकाइराख्न थप चुनौती थपिएको उद्योगीहरूको गुनासो छ ।