पार्टीको आन्तरिक विषय सडकमा ल्याउनु अनुशासनहीनता र अराजकता होः अध्यक्ष ओली


काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका आन्तरिक विषयलाई सामाजिक सञ्जालमा ल्याउने वा सार्वजनिक रूपमा हस्ताक्षर संकलन गर्ने कार्यलाई अनुशासनहीनता र अराजकताको संज्ञा दिएका छन् । 

झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीको विधि र पद्धतिभन्दा बाहिर गरिने कुनै पनि गतिविधि मान्य नहुने स्पष्ट पारे । अध्यक्ष ओलीले नेतृत्वप्रति असन्तुष्टि भए वा अध्यक्ष परिवर्तन गर्नुपर्ने लागे पार्टीका सम्बन्धित कमिटीहरूमा छलफल गर्नुपर्नेमा जोड दिए ।

पार्टीभित्र लोकतन्त्र रहेको र छलफल गर्न पाइने तर सामाजिक सञ्जालमा लेखेर वा बाहिर हस्ताक्षर संकलन गरेर अध्यक्ष हटाउन खोज्नु पार्टीको पद्धति नभएको उनले बताए । यस्तो प्रवृत्ति अनुशासनहीनता भएकाले पार्टीमा सह्य नहुने चेतावनी दिए । विवाह र सम्बन्ध विच्छेदको उदाहरण दिँदै अध्यक्ष ओलीले कुनैपनि सम्बन्ध वा जिम्मेवारीबाट अलग हुनका लागि निश्चित प्रक्रिया र विधि हुने उल्लेख गरे ।

विवाह जस्तो पवित्र बन्धनमा बाँधिएकाहरूले पनि पछि चित्त नबुझे विधिपूर्वक सम्बन्ध विच्छेद गर्न पाउने बताउँदै पार्टीमा पनि कसैलाई केही कुरा मन परेन भने छोड्ने वा परिवर्तन गर्ने अधिकार रहेको जिकिर गरे । तर त्यसको एउटा मर्यादा र विधि हुने उनको भनाइ छ । पार्टीका नेता तथा कार्यकर्ताहरूले पार्टीको विचार र सिद्धान्त बोक्नुपर्ने बताउँदै उनले आन्तरिक विषयलाई बजारमा लगेर तमासा देखाउनु र विरोधीलाई हँसाउनु गलत भएको टिप्पणी गरे ।

आफू व्यक्तिगत रूपमा कसैको आलोचना नगरेर गलत प्रवृत्तिको विरुद्धमा रहेको स्पष्ट पार्दै अध्यक्ष ओलीले पार्टी अध्यक्षको हैसियतमा आफू जुनसुकै आलोचना सुन्न तयार रहेको बताए । कमी–कमजोरी भए सच्याएर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले विशेषगरी माथिल्लो तहका नेताहरूले आफ्नो आचरण र व्यवहारमा सुधार ल्याउनुपर्नेमा जोड दिए ।