काठमाडाैँ । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने ७ दशमलव ९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ ।
महानगर प्रमुख चिरिबाबु महर्जनकाअनुसार बालकुमारीदेखि बल्खु हुँदै सानेपासम्मको चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट प्रणाली जडान गरिएको हो ।
स्मार्ट स्ट्रिट लाइट प्रणाली नेपालमै पहिलोपटक ललितपुर महानगरपालिकाले उनले दाबी गरे । स्मार्ट स्ट्रिट लाइट प्रणालीको जडान कार्य सम्पन्न भइसकेकोले अब उद्घाटनको तयारी गरिएको उनले जानकारी दिए । उनकाअनुसार बुधवार बेलुका बालकुमारी पुलबाट बत्ती बालेर स्मार्ट स्ट्रिट लाइटको औपचारिक शुभारम्भ गरिनेछ ।
महानगरले सोमबार आयोजना गरेको चिकित्सकसहितको एम्बुलेन्स सेवा सुभारम्भ कार्यक्रममा उनले उक्त जानकारी दिएका हुन् । महानगरपालिकाले चक्रपथबाहेक महानगरभित्रका मुख्य सडकहरूमा समेत स्मार्ट स्ट्रिट लाइट जडान गरिसकेको महर्जनले जानकारी दिए ।
चक्रपथ क्षेत्रमा बत्ती सञ्चालनमा आएपछि ललितपुर महानगरपालिका रातको समयमा समेत थप उज्यालो र सुरक्षित देखिने उनको भनाइ छ । स्मार्ट स्ट्रिट लाइट सञ्चालनपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट रातिको समयमा अवतरण गर्ने यात्रुले दक्षिणतर्फबाट हेर्दा देखिने उज्यालो शहर ललितपुर महानगर हुने उनको दाबी छ ।
उनले भने, “ललितपुर महानगरपालिकामा ७ दशमलब ९ किलोमिटर चक्रपथ पर्छ । त्यो ७ दशमलब ९ किलोमिटर चक्रपथ भनेको बालकुमारी देखि बल्खुसम्म सानेपासम्म हो । यहाँ हामीले स्मार्ट स्ट्रिट लाइट नेपालमा हामीले ल्याएका हौँ, यो स्मार्ट स्ट्रिट लाइट हामीले इन्स्टल गरिसक्यौँ र भोलि छाडी पर्सि बेलुकी ७ बजे हामीले बालकुमारीको पुलबाट बटन दबाएर यो बत्ती हामी बाल्छौँ । त्यसपछि ललितपुर महानगरपालिका एकदमै उज्यालो हुन्छ । अहिले नै हामीले स्मार्ट स्ट्रिट लाइट भित्र तिर मुख्य मुख्य सडक सबैमा राखिसकेका छौँ । अब त्यो बत्ती पनि बलिसकेपछिको अवस्थामा कोही पनि रात्रिकालीन अवस्थामा हवाइजहाजबाट त्रिभुवन इन्टरनेसनल एयरपोर्टको रनवे जिरो टु २० मा चाहीँ ल्यान्डिङ्ग गर्न दक्षिण तिरबाट छिर्नुभयो र मुन्तिर यसै हेर्नुभयो भने देखि जुन सहर उज्यालो हुन्छ, त्यो ललितपुर महानगरपालिका हुन्छ ।”
महानगरपालिकाले स्मार्ट स्ट्रिट लाइटलाई शहरी पूर्वाधार र रात्रिकालीन सुरक्षा सुधार गर्ने योजनाका रूपमा अघि बढाएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्