काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका अध्यक्ष तथा पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।
आज भएको बन्दी प्रत्यक्षीकरणको सुनुवाईपछि सर्वोच्चले थुनामा नराखी हाजिर जमानी वा तारेखमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको हो । व्यक्तिगत गोपनीयता उल्लङ्घनसम्बन्धी आरोपमा पक्राउ परेका श्रेष्ठलाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएको भन्दै अदालतले रिहा गर्न आदेश दिएको हो ।
अदालतले जारी गरेको आदेशमा उजुरीकर्ताले सार्वजनिक भएको तस्बिरका कारण गोपनीयता हनन भएको दाबी गरे पनि उक्त तस्बिर सम्बन्धित व्यक्तिले आफैं सामाजिक सञ्जाल फेसबुकमा राखेको देखिएको उल्लेख छ ।
साथै समाचार प्रकाशन भएको माध्यममा श्रेष्ठ सम्पादक भए पनि उनीमाथि थप अनुसन्धान गर्नुपर्ने भए हाजिर जमानी वा तारेखमा राखेर प्रक्रिया अगाडि बढाउन सकिने सर्वोच्च अदालतको निष्कर्ष छ।
आदेशमा नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउँदै सञ्चारमाध्यमको समाचार प्रकाशन तथा प्रसारणको अधिकारलाई मौलिक हकका रूपमा संरक्षण गरिएको उल्लेख गरिएको छ ।
अदालतले सञ्चारकर्मीसँग सम्बन्धित विषयमा अनुसन्धान गर्दा संविधानद्वारा सुनिश्चित प्रेस स्वतन्त्रतालाई समेत ध्यान दिनुपर्ने जनाएको छ ।
सर्वोच्च अदालतले अनुसन्धानका क्रममा श्रेष्ठको घर तथा कार्यालयबाट बरामद गरिएका सामग्री अदालतको रोहवरमा फिर्ता दिन पनि आदेश भएको छ ।


प्रतिक्रिया दिनुहोस्