काठमाडौँ । नेपालको दूरसञ्चार सेवाप्रदायक एनसेलले विद्युतीय सवारी साधन (ईभी) क्षेत्रको विश्वस्तरीय ब्रान्ड बीवाईडीसँग रणनीतिक साझेदारी गरेको छ।
यस सहकार्यअन्तर्गत नेपालमा बिक्री हुने प्रत्येक बीवाईडी सवारी साधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान गरिने भएको छ।
यस पहलले ग्राहकहरूलाई पूर्ण डिजिटल कनेक्टिभिटी सहितको ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। अब सवारीभित्रै सिधै इन्टरनेट सेवा उपलब्ध हुने भएपछि प्रयोगकर्ताहरूले फोन, वाइ–फाई हटस्पट वा बाह्य उपकरणमा निर्भर रहनु पर्ने बाध्यता अन्त्य भएको छ।
आईओटी सिमको जडानपछि बीवाईडीका ग्राहकले युट्युब, स्पोटिफाइ, काराओके लगायतका लोकप्रिय अनलाइन सेवाहरू प्रत्यक्ष रूपमा सवारीको स्क्रिनबाट उपभोग गर्न सक्नेछन्। साथै, बीवाईडी एप इकोसिस्टम र कनेक्टेड इन्फोटेनमेन्ट सुविधाहरू समेत यसले सहजीकरण गर्ने जनाइएकाे छ।
एनसेलको देशव्यापी नेटवर्क कभरेजका कारण उपत्यकादेखि ग्रामीण सडकसम्म निर्बाध नेभिगेसन र सुरक्षित कनेक्टिभिटी सम्भव हुने विश्वास गरिएको छ। तथापि, सेवाको गुणस्तर स्थान, सवारीको मोडल, र नेटवर्क अवस्थाअनुसार भिन्न हुन सक्नेछ।
काठमाडौँमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, “यो साझेदारीले बीवाईडी सवारीमा स्मार्ट कनेक्टिभिटी, सुरक्षा, र इन्टेलिजेन्ट मोबिलिटीको समायोजन गर्दछ। ग्राहकहरू अब बाह्य इन्टरनेट स्रोतमा आश्रित नभई सिधै गाडीबाटै कनेक्ट भई डिजिटल सेवाको आनन्द लिन सक्षम हुनेछन्।”
उनले थपे, “ट्राफिक जाममा होस् या लामो यात्रामा, यसले अझ भरपर्दो नेभिगेसनको अनुभव दिन्छ।”
यो साझेदारीले नयाँ सवारी किन्ने ग्राहकलाई मात्र होइन, पहिले नै बीवाईडी गाडी खरिद गरिसकेका प्रयोगकर्ताहरूलाई पनि अवसर दिने जनाइएकाे छ । उनीहरूले नेपालभरका १३ वटा आधिकारिक बीवाईडी सेवा केन्द्रमा गई आफ्नो सवारीमा एनसेलको आईओटी सिम जडान गराउन सक्नेछन्।
बीवाईडी नेपालका आधिकारिक वितरक साइमेक्स इन्क का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने, “बीवाईडी सधैँ प्रविधिको अग्रपंक्तिमा छ। एनसेलसँगको यो सहकार्यले हाम्रा ग्राहकलाई अत्याधुनिक इन–भेइकल कनेक्टिभिटी उपलब्ध गराई उनीहरूको यात्रा अनुभवलाई थप उत्कृष्ट बनाउनेछ।”
ग्राहकले उपलब्ध गराइने कनेक्टिभिटी प्लान, यसको अवधि, र शुल्क आफ्नो सवारीको मोडल वा सेवा प्याकेजअनुसार निर्धारण हुने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्