काठमाडाैँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको वास्तविक अवस्था जानकारी लिन सकिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ ।
संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को बुधवार बसेको तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप सार्वजनिक गरेकी हुन् ।
एपमार्फत जीपीएस जडान गरिएका सार्वजनिक सवारी साधनको स्थान तथा यात्रुले पर्खिरहेको स्थानमा सवारी पुग्न लाग्ने समयबारे जानकारी लिन सकिनेछ ।
एपमा हालसम्म एक हजार दुई सय सवारीसाधन जोडिएका छन् । बैठकमा अध्यक्ष डंगोलले उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि स्थानीय तहबिच सहकार्य आवश्यक रहेको बताउनुभयो । यातयात क्षेत्रको सुधार गर्न साझा पहल र वित्तीय साझेदारी आवश्यक रहेको उनको भनाइ छ ।
यातायात क्षेत्रको सुधार कुनै एक पालिका वा स्थानीय तहले मात्र गर्न नसक्ने उनले बताए । उनले पाईलटिङका रुपमा शुरु गरेको रात्रीकालिन बस सेवा सफल भएको उल्लेख गर्दै सेवाको विस्तार आवश्यक रहेको बताए ।
उपत्यकाका चार वटा स्थानिय तहलाई समेट्ने गरी रुट तयार पारेर वैशाख १ गतेदेखि रात्री बस सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ । काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिका छुने गरी पाइलट रुट सञ्चालन गरिएको थियो ।
उनकाअनुसार रात्री बसमा हरेक महिना २२ हजारदेखि २५ हजारसम्म यात्रुले सेवा लिइरहेका छन् । जेठ महिनामा मात्रै २८ हजार यात्रुले रात्री बस सेवा प्रयोग गरेको उनले बताए । रात्री बस सेवा विशेषगरी श्रमिक वर्गका लागि आवश्यक देखिएको उनको भनाइ छ ।
उनले रात्री बसका रुट थप विस्तार गर्न साझा यातायातसँग छलफल भइरहेको पनि जानकारी दिए । विद्यार्थीलाई लक्षित गर्दै बिहानको समयमा पनि थप छिटो सार्वजनिक सवारी सञ्चालन गर्ने योजना रहेको उनले बताए । उनले यातयात क्षेत्रलाई व्यवस्थित बनाउनको लागी ‘केटिएम पब्लिक ट्रान्सपोर्ट’ एप सञ्चालन ल्याएको पनि जानकारी दिए ।
उनले सार्वजनिक यातायात सेवा विस्तारका लागि साझा यातायातसँगै अन्य यातायात व्यवसायी तथा सेवा प्रदायकसँग पनि सहकार्य आवश्यक रहेको उल्लेख गरे । उपत्यकाका सबै स्थानीय तहले आफ्नो क्षमताअनुसार वित्तीय साझेदारी गरी सार्वजनिक यातायात सेवा सञ्चालन गर्नुपर्ने उनको जोड थियो ।
परिषद्का उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यात्रुले सार्वजनिक बस प्रयोग गर्दा सहजता महसुस गर्ने गरी यातायात प्रणाली सुधार गर्नुपर्ने बताए ।
बैठकले चालु आर्थिक वर्षका लागि बस स्टपर तथा पिक–ड्रप प्वाइन्ट निर्धारण, रात्रि बस सञ्चालनका शर्त र सम्झौताको मोडल तयार गरी नगरपालिकासँग सहकार्य शुरु गर्ने निर्णय गरेको छ ।
त्यस्तै, स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप तथा बस पार्कमा जीपीएस ट्रयाकिङमा आधारित सार्वजनिक यातायात सूचना प्रणाली जडान गर्ने र नगदरहित भाडा प्रणाली लागू गर्न आवश्यक कानूनी पूर्वाधार तयार गर्ने कार्यक्रम बैठकले स्वीकृत गरेको छ ।
यात्रुले टिकट लिने संस्कारलाई प्रोत्साहन गर्न अभियान सञ्चालन गर्ने तथा सार्वजनिक यातायातसम्बन्धी अध्ययन र अनुसन्धानका कार्यक्रम अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्