काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई मल वितरण गर्दा लालपूर्जा माग्नुलाई नकरात्मक रुपमा लिन नहुने बताएकी छिन् ।
बुधबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दे उनले यस्तो बताएकी हुन् । उनले जग्गाको क्षेत्रफलको आधारमा आवश्यक मल वितरण गर्न लालपुर्जा मागिएको बताइन् ।
किसानको जग्गाको क्षेत्रफलका आधारमा प्राविधिकको सिफारिसअनुसार मलको मात्रा निर्धारण गर्न लालपूर्जा वा जग्गाको विवरण मागिएको उनको भनाइ छ । उनकाअनुसार मल आपूर्ति तथा वितरणमा संघ, प्रदेश र स्थानीय तीन तहका सरकारबिच समन्वय भइरहेको छ ।
केन्द्र सरकारले मल आपूर्ति गर्ने तथा प्रदेश र स्थानीय तहले वितरणमा सहजीकरण गर्ने व्यवस्था रहेको उनले बताइन् । कृषिको कार्यान्वयन स्थानीय तहले गर्ने र मलको वितरण पनि स्थानीय तहले नै गरिरहेको उनको भनाइ छ ।
मन्त्री चौधरीले यसपटक मध्ये पुर्वको द्वन्द्वका कारण मल आपूर्तिमा केही ढिलाइ भएको स्वीकार गरिन् । यद्यपि, सरकारले भारतसँग जीटुजी सम्झौतामार्फत तथा अन्य स्रोतबाट समेत मल ल्याउने प्रक्रिया अघि बढाइरहेको उनको भनाइ छ ।
उनले भनिन्, “लालपूर्जा किन चाहिन्छ भन्ने कुरा बुझ्नुप¥यो । हामीले मल जति पनि हाल्न पाइन्छ त ? टेक्निकली तपाईंहरू सोच्नुस्, मल जति पनि हाल्न पर्दैन । टेक्निसियनले दिएको सुझाव अनुसार अनुसार हाल्ने हो, त्यही भएर हामीले उहाँहरूको जग्गाका विवरण कति हो, उहाँहरूलाई चाहिँ कति जग्गा छ र त्यो अनुसारको हामीले टेक्निसियनले सजेस्ट गरे अनुसारको मल वितरण गर्छौं । लालपूर्जा देखायो भन्दैमा त्यसलाई नेगेटिभ न्यारेटिभ नबनाउनुस् । हामीले कति जग्गामा कति मल हाल्ने हो त्यो अनुसारको टेक्निकल लिड्समा काम गर्ने हो । हामी संघ, प्रदेश र स्थानीय तहको सरकारमा छौँ । केन्द्र सरकारले आपूर्ति गर्ने र प्रदेश सरकार र स्थानीय तहले वितरण प्रणालीमा सहजीकरण गर्ने गर्छ । कृषिको कार्यान्वयन स्थानीय तहले गर्छ । मलको वितरण पनि स्थानीय तहले नै गरिरहेको छ । हामीले मिलाएर काम गर्दैछौँ ।”
उनले साउन १ देखि २७ गतेसम्म करिब ६२ हजार मेट्रिक टन मल किसानकोमा पठाएको जानकारी दिइन् । ६४ हजार मेट्रिक टन मल भारतबाट आउने क्रममा रहेको उनको भनाइ छ । चालु आर्थिक वर्षका लागि करिब २ लाख ८०० मेट्रिक टन मल भित्रिने क्रममा रहेको पनि ८८ उनले बताइन् ।
अन्तर्राष्ट्रिय बजारबाट मल ल्याउनुपर्ने भएकाले प्राविधिक तथा ढुवानीसम्बन्धी कारणले कहिलेकाहीँ आपूर्तिमा ढिलाइ हुने मन्त्री चौधरीले बताइन् । वर्षायाममा मल भिज्नसक्ने जोखिम रहेकाले ढुवानीमा थप सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।
मल वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सरकारले अनलाइन प्रक्रियासमेत अघि बढाइरहेको उनले जानकारी दिइन् । किसानले मल वितरणसम्बन्धी विवरण अनलाइन प्रणालीबाट समेत हेर्नसक्ने व्यवस्था मिलाइरहेको मन्त्री चौधरीले बताइन् ।


प्रतिक्रिया दिनुहोस्