आयल निगमको तथ्याङ्क: ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात


काठमाडौँ । देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा चिन्ता बढिरहेका बेला नेपाल आयल निगमले ग्यासको आयात तथा बिक्री–वितरणबारे महत्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ। निगमले पछिल्लो पाँच महिनाको तथ्यांक सार्वजनिक गर्दै बजारमा ग्यासको आपूर्ति नियमित रहेको जनाएको हो।

नेपाल आयल निगमले २०८३ भदौ ३ गते जारी गरेको प्रेस विज्ञप्तिमा १४.२ केजीका एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण व्यवस्था नियमित रहेको स्पष्ट पारेको छ। निगमले पछिल्लो पाँच महिनाको आयात तथा बिक्री तथ्यांक सार्वजनिक गर्दै पछिल्लो समय ग्यासको आपूर्ति झनै बढेको देखाएको छ।

निगमका अनुसार २०८२ चैतमा ३५ हजार ७९९.४५ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। उक्त महिनामा करिब २७ लाख ३२ हजार ३५५ सिलिन्डर बजारमा गएको थियो।

त्यस्तै, २०८३ वैशाखमा ३२ हजार ५६.४४ मेट्रिक टन, जेठमा ३२ हजार ५४२.२९ मेट्रिक टन , असारमा ४४ हजार ४४४.४० मेट्रिक टन र श्रावणमा ५० हजार ३९६.३५ मेट्रिक टन एलपी ग्यास आयात भएको निगमको तथ्यांकमा उल्लेख छ।

यसरी हेर्दा पछिल्लो पाँच महिनामध्ये श्रावणमा एलपी ग्यासको आयात सबैभन्दा उच्च देखिएको छ। श्रावणमा मात्रै ५० हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात भएको निगमले जनाएको छ।

निगमका अनुसार श्रावण महिनामा ४० लाखभन्दा बढी सिलिन्डर बजारमा आएको छ। यसले पछिल्लो समय एलपी ग्यासको आयात तथा बिक्री–वितरण बढिरहेको तथ्याङ्कबाट देखिन्छ।

निगमले पछिल्लो पाँच महिनाको एलपी ग्यास आयात तथा बिक्री र त्यसअनुसार बजारमा आउने सिलिन्डर संख्याको तुलनात्मक अध्ययन गर्दा श्रावण महिनामा अघिल्लो महिनाको भन्दा करिब ९ लाख सिलिन्डर बढी बिक्री वितरण भएको जनाएको छ।

निगमले आगामी दिनमा समेत एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रूपमा भइरहने स्पष्ट पारेको छ। त्यसैले आम उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न निगमले आग्रह गरेको छ।

ग्यासको आपूर्ति नियमित भइरहेकाले बजारमा अभाव हुने आशंकामा उपभोक्ताले अनावश्यक रूपमा ग्यास थुपार्दा कृत्रिम अभाव सिर्जना हुन सक्ने निगमको संकेत छ। निगमले उपलब्ध तथ्यांकलाई आधार बनाएर उपभोक्तालाई संयमित हुन र आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको हो।

आयल निगमको पछिल्लो तथ्यांकले बजारमा ग्यासको आपूर्ति घटेको भन्दा पनि पछिल्लो महिनामा आयात र बिक्री–वितरणको मात्रा उल्लेख्य रूपमा बढेको देखाएको छ।