संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ मात्र पर्याप्त छैनः रवि लामिछाने


काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यानाकर्षण गराएका हुन् ।

लामिछानेले कतिपय राजनीतिक दलहरूले संविधान संशोधनका लागि आवश्यक सङ्ख्या पु¥याउन सरकारलाई सहयोग गर्ने भनी दिएको अभिव्यक्तिको स्वागत गरे । तर संशोधनका लागि प्रतिनिधि सभाको दुई–तिहाइ सङ्ख्या मात्र अन्तिम आधार नभएको भन्दै उनले यसका अन्य प्रक्रियागत पक्षहरूलाई पनि उत्तिकै ध्यान दिनुपर्ने उल्लेख गरे ।

सरकारलाई सहयोग गर्ने भावना र तत्परता देखाउने दलहरूप्रति आभार व्यक्त गर्दै उहाँले संविधान र कानूनको पूर्ण पालना गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । 

सभापति लामछानेले भने, “कतिपय माननीयज्यूहरूले सरकारलाई समर्थन गर्दै,सरकारले आँट गरोस्, हामी सहयोग गर्छौँ, संविधान संशोधनका लागि आवश्यक संख्या पनि दिन्छौँ, भन्नुभएको छ । तर संविधान संशोधनका लागि प्रतिनिधि सभामा मात्र दुईतिहाइ संख्या पुग्नु पर्याप्त हुँदैन । संविधान र कानूनी व्यवस्थाअनुसार आवश्यक सबै प्रक्रिया र पक्षलाई ध्यान दिनुपर्छ । तर सरकारलाई सहयोग गर्ने उहाँहरूको सकारात्मक भावना र स्पिरिटको म स्वागत तथा सम्मान गर्न चाहन्छु । संविधान संशोधनजस्तो संवेदनशील विषयमा कानून र संविधानका सबै प्रावधानलाई ध्यानमा राख्दै अघि बढ्नुपर्छ ।”

सभापति लामिछानेले संविधान संशोधन जस्तो संवेदनशील विषयमा भावनाभन्दा पनि कानूनी र संवैधानिक प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।