काठमाडाैँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न ६ सदस्यीय समिति गठन गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले यस्तो जानकारी दिएका हुन् ।
उनकाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । यसअघि भाद्र ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३’ स्वीकृत गरेको थियो ।
समितिले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्नको लागि काम गर्ने प्रवक्ता अर्यालले बताए । उक्त केन्द्रमा एक जना कार्यकारी निर्देशकसहित ३० जना कर्मचारीको व्यवस्था गर्नेगरी तयारी भइरहेको उनको भनाइ छ । उक्त केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, विद्युतीय शासन तथा प्रविधिमैत्री सेवा प्रवाहलाई व्यवस्थापन गर्ने बताइएको छ ।
उनले भने, “प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को शासकीय मामिला हेर्ने सचिवज्यूको संयोजकत्वमा एउटा ६ सदस्यीय समिति गठन भएको छ । मुख्यतया यो सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेशले यो समितिको व्यवस्था गरेको छ । यसले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने यसको मूल उद्देश्य हो । यस केन्द्रमा एक जना कार्यकारी निर्देशकसहित ३० जना कर्मचारीको व्यवस्था समेत गरिएको छ । यससँगै आवश्यकताअनुसार थप विज्ञ कर्मचारी लिनसक्ने गरी यस्तो व्यवस्था गरिएको हो ।”
उनले प्रधानमन्त्री कार्यालयबाट सबै मन्त्रालयलाई नागरिकले तत्काल अनुभूत गर्ने किसमका ६५ वटा अवधारणाको मस्यौदा पठाइएको र सम्बन्धीत मन्त्रालयहरुले उक्त मस्यौलाई कार्यान्वयनमा लगिसकेको समेत जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्