पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबिच सहकार्य हुँदै


काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० र टुरिष्ट बस एसोसिएसन अफ नेपाल ९टिवान०बीच सहकार्य हुने भएको छ ।

टिवानले आयोजना गरेको ‘नाट्टाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना’ प्रदान कार्यक्रममा नाट्टाका नवनिर्वाचित अध्यक्ष भरतजङ्ग पाण्डेले पर्यटन क्षेत्रको विकास र साझा समस्या समाधानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले टिवान नाट्टाको एक अभिन्न अङ्ग भएकाले टिवान र नाट्टाको समस्या एउटै भएको बताए । “टिबान छुट्टै संस्था नभई हाम्रो आफ्नै परिवार हो । पर्यटन क्षेत्रका हरेक एजेन्डामा हामी एक भएर अगाडि बढ्नेछौँ,” उनले भने ।

टिवानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्यले पर्यटक बस र पर्यटन उद्योगमा धेरै समस्या भएकाले यस समस्या समाधानमा वर्तमान कार्यसमिति लाग्ने विश्वास व्यक्त गरे।

नाट्टाका महासचिव राजकुमार देवकोटाले पर्यटक बसपार्कको समस्या टिवानको समस्यामात्र नभएर सारा पर्यटन क्षेत्रको समस्या भएकाले यसको समाधानका लागि नाट्टाले प्रतिबद्ध भएर काम गर्ने बताए ।

टिवानका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले पर्यटक बसपार्क नहुँदा पर्यटक बस व्यवसायीले ठूलो समस्या भोग्नुपरेको भन्दै यसको समाधानका लागि नाट्टासँग सहकार्य गरिने बताए ।

न्यौपानेकाअनसार पर्यटक बस व्यवसायीको हकहितको अधिकारको रक्षाका लागि स्थापना भएको टिवानले हाल दैनिक १०० पर्यटकीय बसमार्फत नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराह, लुम्बिनी, जनकपुरलगायत क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको छ ।