स्वास्थ्यकर्मीसहित तीन हेलिकप्टर उद्धारमा, निजी हेलिकप्टरलाई पूर्वस्वीकृति नचाहिने


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि सरकारले उद्धार, राहत तथा खोजी कार्यलाई तीव्रता दिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरिएको छ।

बाढी प्रभावित नुवाकोट र रसुवामा उद्धार तथा स्वास्थ्य सेवा सञ्चालनका लागि नेपाली सेनाका दुई उद्धार हेलिकप्टर र स्वास्थ्यकर्मीसहितको एमआई–१७ हेलिकप्टर गरी तीन हेलिकप्टरको टोली प्रस्थान गरेको छ।

त्यस्तै, धादिङ, नुवाकोट, रसुवा र चितवनमा सबै सुरक्षा निकायका जनशक्ति तथा उद्धार टोलीलाई फिल्डमा परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक समन्वयसहित परिचालन गरिएको हो।

बाढी प्रभावित धादिङ, नुवाकोट, रसुवा र चितवनमा नेपाल टेलिकमले फोन तथा डाटा सेवा निःशुल्क उपलब्ध गराएको छ। उद्धार, राहत तथा आपत्कालीन समन्वयमा सहजता पु¥याउने उद्देश्यले प्रभावित क्षेत्रका ग्राहकलाई उक्त सुविधा उपलब्ध गराइएको हो।

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बुधबार बिहान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको थियो। बैठकले बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत र समन्वयका लागि राज्यका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ। वैठक अझै जारी छ। 

बैठकमा प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका काम अघि बढाउने, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र आवश्यक समन्वयका लागि सम्बन्धित निकायलाई परिचालन गर्ने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री शाहले तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। बाढीको जोखिम अझै कायम रहेकाले नागरिकको सुरक्षा पहिलो प्राथमिकतामा राखेर उद्धार तथा स्थानान्तरणको काम अघि बढाउन निर्देशन दिइएको हो।

उद्धार तथा खोजी कार्यमा परिचालन हुने निजी हेलिकप्टरलाई पूर्वस्वीकृति लिनु नपर्ने व्यवस्था गर्ने निर्णय गरेको छ। आकस्मिक उद्धार तथा राहत कार्यमा ढिलाइ नहोस् भन्ने उद्देश्यले निजी हेलिकप्टरलाई तत्काल परिचालन गर्न सहज बनाउने निर्णय गरिएको हो।

यसै विषयमा अहिले आकस्मिक मन्त्रिपरिषद्को बैठकसमेत जारी रहेको छ। बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउने र आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।

सरकारले प्रभावित क्षेत्रमा रहेका नागरिकलाई संयमित रहन, नदी तथा खोलाको तटीय क्षेत्रमा नजान र सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ। बाढीको अवस्था तथा जोखिमलाई मध्यनजर गर्दै उद्धार र राहत कार्यलाई थप तीव्र बनाउने सरकारको तयारी छ।

राहत उद्धार र खाेजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धनसहितकाे ट्यांकर काठमाडौंबाट परिचालन गरिएकाे छ ।