रसुवामा फेरि बाढीको जोखिम, हिमताल क्षेत्रमा अझै करिब ७ मिटर अग्लो प्राकृतिक बाँध


काठमाडौँ । रसुवामा पुनः बाढी आउन सक्ने जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक अधिकारीलाई चिनियाँ पक्षबाट प्राप्त जानकारीअनुसार बाढीको कारण बनेको भनिएको हिमताल क्षेत्रमा अझै करिब ७ मिटर अग्लो प्राकृतिक बाँध रहेको छ। उक्त बाँध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको जनाइएको छ।

बाँध फुटेमा तटीय क्षेत्रमा थप बाढी आउन सक्ने भएकाले नदी तथा खोलाको आसपास रहेका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकलाई समेत जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा रहन भनिएको छ।

सम्बन्धित निकायले तटीय क्षेत्रमा नजान तथा विपद्सम्बन्धी आधिकारिक सूचना र निर्देशनको पालना गर्न आग्रह गरेको छ।