काठमाडौँ । बाढीबाट प्रभावित नुवाकोटको अवस्था बुझ्न प्रधानमन्त्री वालेन्द्र शाह स्थलगत निरीक्षणका लागि विदुर पुगेका छन्।
प्रधानमन्त्री शाह पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित बिहीबार बिहान सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेका हुन्। बिहान ९ः३० बजे काठमाडौंँबाट निस्किएको प्रधानमन्त्रीको टोलीले बाढीबाट बढी प्रभावित विदुर नगरपालिका र आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ।
बाढीका कारण नुवाकोटका विभिन्न स्थानमा सडक, पुल, बस्ती तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। प्रधानमन्त्रीको भ्रमणलाई बाढीपछिको वास्तविक क्षतिको प्रत्यक्ष मूल्यांकनसँगै तत्काल राहत र पुनर्स्थापनाको योजना बनाउन केन्द्रित गरिएको छ।
स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाह र मन्त्री लम्सालले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिबाट बाढीले पुर्याएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिनेछन्। अवरुद्ध सडक तथा अन्य पूर्वाधार तत्काल सञ्चालनमा ल्याउने विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले प्रभावित नागरिकसम्म राहत छिटो पुर्याउन तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस्