काठमाडौं । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गर्दै मृतकका परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न एक विपद् व्यवस्थापन सल्लाहकार पठाउने जनाएको छ।
अमेरिकाले बाढी प्रभावित समुदायका लागि आकस्मिक आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहयोग उपलब्ध गराउन ५ लाख अमेरिकी डलर सहायता प्रदान गर्ने घोषणा गरेको छ। उक्त सहयोग क्याथोलिक रिलिफ सर्भिसेससँगको अमेरिकी सहयोग कार्यक्रममार्फत उपलब्ध गराइने जनाइएको छ।
अमेरिकी विदेश मन्त्रालयले नेपालमा बाढीको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्था पत्ता लगाउन तथा आवश्यक सहयोग गर्न काठमाडौंस्थित अमेरिकी दूतावासले स्थानीय अधिकारीसँग समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।
बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई स्थानीय समाचार र अधिकारीका निर्देशन पालना गर्न तथा आपत्कालीन सूचना प्राप्त गर्न स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्राम (STEP) मा दर्ता हुन दूतावासले आग्रह गरेको छ।
त्यस्तै, नेपालमा रहेका आफ्ना परिवारका सदस्यबारे जानकारी लिन चाहने अमेरिकी नागरिकले अमेरिका तथा क्यानडाबाट 1-888-407-4747 र अन्य स्थानबाट 1-202-501-4444 मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस्