काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग घोषणा गरेको छ ।
प्रतिष्ठानको केन्द्रीय समितिको आकस्मिक बैठकले तत्कालका लागि एक लाख एक हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानले बिहिवार प्रेस विज्ञप्ति जारी गर्दै भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका नदी तटीय क्षेत्रमा भएको ठुलो भौतिक तथा मानवीय क्षतिप्रति प्रतिष्ठानले गहिरो दुःख व्यक्त गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष रिता थापामगर र महासचिव शिव हमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि प्राकृतिक विपत्तिको यस कठिन घडीमा पीडित नागरिकहरूको राहत र पुनर्स्थापना लागि सहयोग गर्नु सबैको सामाजिक तथा मानवीय दायित्व रहेको उल्लेख छ ।
प्रभावित क्षेत्रमा राहत कार्यलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन प्रतिष्ठानले आफ्ना मातहतमा रहेका प्रदेश, जिल्ला तथा स्थानीय कमिटीहरू र शुभेच्छुकहरूबाट थप राहत रकम तथा सहयोग सामग्री जुटाउने अभियान सञ्चालन गर्ने समेत जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्