प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग संकलन


काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ।

अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वटा वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका हुन्।

बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो धनजनको क्षति भएपछि सरकारले मन्त्रिपरिषद्को बैठकमार्फत प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत तथा उद्धारका लागि कोषमा व्यक्ति तथा विभिन्न संस्थाबाट सहयोग रकम जम्मा हुन थालेको हो।

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने तथा त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयका रूपमा तोकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताहरूको रकम आफैँमार्फत स्वीकार गरिरहनुभएको छ।

यस्तै, व्यक्तिगततर्फको नगद सहयोग रकम दाताहरूले अर्थ मन्त्रालयमै आएर प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।

यससँगै कोषमा रहेको बचत रकम चार अर्ब नौ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ रुपैयाँ बचत रहेको थियो।

यसअघि बिहीबार ६ घण्टाको अवधिमा मात्रै नेपालका निजी क्षेत्रका दाताहरूबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।

हाल संकलन भएको सहयोग रकममा विभिन्न मित्रराष्ट्रहरूले घोषणा गरेको सहयोग भने समावेश गरिएको छैन।