बाढीपहिरो प्रभावितका लागि त्रिवेणी समूहद्वारा २ करोड ११ लाख सहयोग


काठमाडौं ।

देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले त्रिवेणी समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

त्रिवेणी समूहका अध्यक्ष सुभाष चन्द्र संघईले शुक्रबार आयोजित कार्यक्रममा उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरण कार्यक्रममा त्रिवेणी समूहका निर्देशकहरू गोविन्दलाल संघई, हर्षवर्धन संघई र साकेत संघईको समेत उपस्थिति थियो।

हालैको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग उपलब्ध गराएको जनाएको छ।

त्रिवेणी समूहका अनुसार विपद्को यस कठिन समयमा गरिएको सहयोगले प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा पुनःस्थापनामा योगदान पुग्ने विश्वास गरिएको छ।

समूहले संकटका समयमा राष्ट्र र नेपाली जनताको साथमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्‍याउँदै भविष्यमा पनि देशले अप्रत्याशित चुनौती सामना गर्नुपरेमा आवश्यक सहयोग र मानवीय सहकार्यमा निरन्तर योगदान गर्ने जनाएको छ।