चितवन । रसुवा बाढीमा परी चितवन ल्याइएका शव व्यवस्थापन जटिल बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले पहिचान हुन नसकेका तथा बेवारिसे शव डीएनए नमुना संकलन गरी संकेत नम्बर राखेर गाड्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै विनाशकारी रसुवा बाढीमा परी चितवनमा हालसम्म संकलन भएका २३३ शवमध्ये आठवटा पहिचान भइसकेको र २२५ वटा शव होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा रहेको जनाएको छ।
होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन भएका शव तथा शवका अवशेषहरू सड्ने–गल्ने अवस्थामा पुगेका र अब पहिचान हुन नसक्ने अवस्थामा रहेको प्रशासनले जनाएको छ। तत्काल व्यवस्थापन नगर्दा त्यस्ता शव दुर्गन्धित हुने तथा संक्रमण र महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषण रहेको सूचनामा उल्लेख छ।
यस अवस्थामा प्राप्त शवहरू थप सड्न–गल्न नदिन, सम्मानजनक, सुरक्षित र कानुनी रूपमा व्यवस्थापन गरी सम्भावित संक्रमणको जोखिमबाट बचाउन बाध्यात्मक विकल्पका रूपमा शव गाड्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
जिल्ला सुरक्षा समिति चितवनको २०८३ भदौ १३ गतेको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम सबै शवको जमिनमुनि व्यवस्थापन गरिने भएको हो। निर्देशिकाको दफा १६ अनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन जिल्ला समिति, चितवनको निर्णयबमोजिम शव जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको हो।
निर्णयअनुसार सबै शवको डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने छ। शवहरू आजदेखि भरतपुर महानगरपालिका–९, देवघाटस्थित खुला स्थानमा व्यवस्थापन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले शोकको यस विषम परिस्थितिमा उक्त निर्णयलाई सकारात्मक रूपमा लिँदै सहयोग, समन्वय तथा सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैमा आग्रह गरेको छ। बाध्यात्मक परिस्थितिबाट सिर्जित यस निर्णयबाट पीडित परिवारलाई पर्न गएको असुविधाप्रति प्रशासनले क्षमायाचना समेत गरेको छ।
शव व्यवस्थापनसम्बन्धी थप जानकारीका लागि प्रहरी निरीक्षक अनिल थापाको ९८५५०–९७०९९ तथा सप्रहवल्दार सुजन खनालको ९८५१३–५९५५८ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्