भोटेकोशी बाढी पीडितका लागि एल.पी. ग्यास उद्योग सङ्घले १,२५० भरिएका सिलिन्डर सहयोग गर्ने


काठमाडौँ । नेपाल एल.पि. ग्यास उद्योग सङ्घले भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित परिवारहरूका लागि १ हजार २ सय ५० थान भरिएका एल.पि. ग्यास सिलिण्डर सहयोग स्वरूप उपलब्ध गराउने घोषणा गरेको छ ।

सङ्घले नेपाल आयल निगममार्फत भरिएका सिलिन्डर सहयोगस्वरूप लक्षित वर्गसम्म पु¥याउने प्रतिबद्धता जनाएको हो ।

सङ्घका अध्यक्ष दिवान बहादुर चन्दले प्रेस विज्ञप्ति जारी गर्दै गत भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरूमा ठुलो धनजनको क्षति पु¥याएकोमा दुःख व्यक्त गर्दै सहयोगबारे जानकारी गराएका हुन् ।

घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्न र बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यमा जुट्न सङ्घले सबै सरोकारवालाहरूसँग हार्दिक अपिल समेत गरेको छ ।

विपद् कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै अध्यक्ष चन्दले यस कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाइलाई मध्यनजर गर्दै यो मानवीय सहयोग जुटाइएको जानकारी दिए ।