प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड रुपैयाँ सहयोग


काठमाडौँ । चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ।

आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई भेटेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ ९२० लाख अमेरिकी डलर० बराबरको सहयोग रकमको चेक हस्तान्तरण गरे।

यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर ९२ लाख अमेरिकी डलर० को नगद सहयोगसमेत हस्तान्तरण गरे।

राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए।

नेपालको विपत्तिमा चीन सधैँ साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको बताउँदै राजदूत माओमिङले नेपालका लागि चीन सरकारले गरेको अन्य प्रकारका सहयोग पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए।

आइतबार मात्रै दुई वटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौँमा ल्याएको राजदूत माओमिङले बताए। थप सहयोग पनि निरन्तर गरिने उनले बताए।

रसुवामा गएको बाढीका कारण चीनतर्फ रोकिएका नेपालीलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउन पहल भइरहेको जानकारी पनि उनले अर्थमन्त्रीलाई दिए।

त्यस्तै, जलविद्युत् कम्पनीको सुरुङमा फसेकाहरूको उद्धारका लागि अघिल्लो दिन नै चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति नेपाल आएको जानकारी दिँदै राजदूत माओमिङले थप केही दक्ष उद्धार प्राविधिक पनि आइतबार नेपाल आइपुगेको बताए।

नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउन चीन सरकारले द्रुत गतिमा काम गरिरहेको जानकारी पनि उनले अर्थमन्त्रीलाई दिए।

नेपाल सरकारका तर्फबाट चीन सरकारको सहायता रकम बुझ्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अकल्पनीय विपत्तिबाट गुज्रिएको नेपाललाई चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिए।

विपत्तिका कारण दुवै मुलुकले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको भन्दै उनले चीनले भोगेको क्षतिप्रति नेपाल सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गरे।

अर्थमन्त्री वाग्लेले बाढीका कारण ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली तथा उनीहरूका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे।

विश्वको बढ्दो तापक्रमका कारण हुने विनाशकारी क्षतिको असर हिमालय क्षेत्रका मुलुकहरूले व्यहोर्नुपर्ने अवस्था सुरु भएको भन्दै उनले यसको सामना गर्न नेपाल र चीनबीच हातेमालो आवश्यक रहेको बताए।

यसपटकको बाढीका कारण नेपालले व्यहोरेको क्षतिको पुनर्निर्माणमा चीनबाट ठूलो सहयोगको अपेक्षा रहेको पनि उनले बताए।

सहायता हस्तान्तरण कार्यक्रमका क्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले बाढीका कारण ज्यान गुमाएका दुवै देशका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारणसमेत गरे।