भोटेकोशी बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ८९४ जना सम्पर्कविहीन


काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। तीमध्ये ८ वटा आयोजना सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन छन्। प्रभावित आयोजनाको कुल क्षमता ६६९ मेगावाट रहेको छ।

इप्पानका अनुसार अनुसार बाढीबाट क्षतिग्रस्त ११ आयोजनाबाट मात्रै ८९४ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। रसुवाका ६ वटा जलविद्युत् आयोजनामा ४९४ मेगावाट क्षमताका आयोजना प्रभावित भएका छन् भने ती आयोजनाबाट ७२६ जना सम्पर्कविहीन छन् ।

रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, सञ्चालनमा रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, निर्माणाधीन १२० मेगावाटको रसुवा–भोटेकोशी, परीक्षण चरणमा रहेको २० मेगावाटको लाङटाङ खोला, सञ्चालनमा रहेको २२ मेगावाटको चिलिमे र ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजना प्रभावित भएको इप्पानले जनाएको छ ।

नुवाकोटका प्रमुख ६ वटा जलविद्युत् आयोजनामा बाढीको प्रभाव परेको छ। ती आयोजनाको कुल क्षमता १७६ मेगावाट रहेको छ भने १६८ जना सम्पर्कविहीन रहेको इप्पानले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

प्रभावित आयोजनामा २४ मेगावाटको त्रिशूली, १४.१ मेगावाटको देवीघाट, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’, १५.६ मेगावाटको मिड्ल त्रिशूली गंगा र २५ मेगावाटको सौय्र्य जलविद्युत् आयोजना छन्।

सुरुङभित्र फसेकाको उद्धार अझै चुनौतीपूर्ण

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार सोमबार पनि जारी रह्यो। २४ घण्टा निरन्तर उद्धार कार्य भइरहे पनि अहिलेसम्म टनेल पोर्टल सफा गर्ने काममै मुख्य प्रगति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सुरुङमा पानी भरिएकाले उद्धार थप चुनौतीपूर्ण बनेको छ।

उद्धार टोलीले क्राउन ब्लास्ट गरी केबल टनेलमा रहेको पानी पम्पसेटमार्फत बाहिर निकाल्ने काम गरेको छ। सुरुङको मुखतर्फ थुप्रिएको ढुंगा–माटो हटाएर भित्र प्रवेश गर्ने मार्ग तयार गर्ने प्रयास भइरहेको छ। विज्ञ तथा प्राविधिक टोलीले निरन्तर काम गरिरहेको भए पनि सुरुङभित्र फसेकाहरूको उद्धारमा अझै सफलता प्राप्त हुन सकेको छैन।

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा पनि खोजी गरिएको छ। नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित सुरुङभित्र खोजी गर्दा कोही फेला नपरेपछि टोली फर्किएको छ। आयोजनाका ४९ कर्मचारीसहित ९३ जना सम्पर्कविहीन रहेको विवरण छ।

त्यस्तै, २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रमा उद्धार तथा पहुँचमार्ग खुलाउने काम सोमबार पुनः सुरु गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, भारतीय प्राविधिक टोली तथा आयोजनाका कर्मचारीको सहभागितामा विद्युत्गृहसम्म पुग्ने बाटो खुलाउने प्रयास गरिएको छ। २५० मिटर लामो सुरुङमा करिब ९० मिटरसम्म पुगिए पनि त्यसपछि भित्र प्रवेश गर्न नसकिएको जनाइएको छ।

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि नेपाली सेनाको नेतृत्वमा नेपाली तथा भारतीय सेना र प्राविधिकसहितको उद्धार टोली पुगेको थियो। टोलीले आयोजनास्थलको निरीक्षण गरे पनि सुरुङभित्र फसेकाहरूको उद्धार गर्न सकेन। आयोजनाले मंगलबार पनि आफ्नोतर्फबाट उद्धार प्रक्रिया अघि बढाउने जनाएको छ।

यसैगरी, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा आइतबारदेखि नै सम्पर्कविहीन व्यक्तिको खोजी जारी छ। बाढीले आयोजनाका सबै संरचना बगाएकाले उद्धार कार्य थप कठिन बनेको छ। आयोजनासँगै रहेको २२० केभी त्रिशूली–३ ‘बी’ सबस्टेसनमा समेत पूर्ण क्षति पुगेपछि सम्पर्कविहीनहरूको खोजी कार्य प्रभावित भएको छ।

माथिल्लो त्रिशूली–१ मा ५७३ जना सम्पर्कविहीन

२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा सोमबार तीन जनाको मात्रै उद्धार भएको छ। हालसम्म ८७३ जनाको उद्धार तथा सम्पर्क स्थापित भएको विवरण छ भने आयोजनाका कर्मचारी, परामर्शदाता तथा ठेकेदार कम्पनीका कर्मचारी गरी ५७३ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।

सम्पर्कविहीनमध्ये करिब ३०० जना सुरुङभित्र काम गर्ने समूहका रहेको उल्लेख छ। उनीहरू सुरुङभित्र बसेर काम गरिरहेका थिए वा भित्र प्रवेश गर्न बाँकी थियो भन्ने यकिन हुन सकेको छैन। बाढी आएको दिन आयोजनामा करिब १ हजार ४०० जनाले काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ।

उपलब्ध विवरण प्रारम्भिक रहेको र थप उद्धार तथा सम्पर्क स्थापित भएसँगै सम्पर्कविहीन व्यक्तिको संख्या परिवर्तन हुनसक्ने जनाइएको छ।