रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता


काठमाडाैँ । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी भोटेकोशी बाढीका कारण हालसम्म ९८७ जनाको मृत्यु भएको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले (आज) मंगलबार बिहान ९ बजेसम्मको  तथ्याङ्कअनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरण कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ ।

प्राधिकरणकाअनुसार बाढीमा परी ज्यान गुमाउनेहरूको शव विभिन्न जिल्लाबाट सङ्कलन गरिएको छ । जसअनुसार चितवनमा सबैभन्दा बढी ३२१ (विभिन्न मानव अङ्गसहित), नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० जनाको शव फेला परेको छ ।

यसैगरी नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको मृत्यु भएको पुष्टि भएको छ । हालसम्म २७९ जना घाइते भएका छन्, जसमध्ये १६८ जना उपचारपछि घर फर्किसकेका छन् । नेपाली सेनाले मात्रै २ हजार ७४० जनालाई स्वास्थ्य उपचार प्रदान गरेको छ ।

सम्पर्कविहीन रहेका ३ हजार ९१६ जनामध्ये ५८३ जना विदेशी नागरिक र उनीहरूसँगै भ्रमणमा रहेका १६४ जना नेपाली रहेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा समेत केही व्यक्तिहरू सम्पर्कविहीन भएको बताइएको छ ।

बेपत्ताहरूको खोजीका लागि सुरक्षाकर्मीहरू निरन्तर परिचालन गरिएका छन् । विपद् व्यवस्थापनका लागि कुल २१ हजार ११ सुरक्षाकर्मी मैदानमा उत्रिएका छन् । यसमा नेपाली सेनाका ८ हजार ८९६, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सहभागी छन् । 

हालसम्म ११ हजार ८१४ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाले ५७३ पटक हवाई उडान गरी ३ हजार ४४९ नेपाली र २५३ विदेशी नागरिकको उद्धार गरेको छ । यस्तै, निजी क्षेत्रबाट २९ वटा र सशस्त्र प्रहरी बलमार्फत ५० वटा उडान गरी राहत र उद्धार कार्यमा सहयोग पु¥याइएको छ । 

सरकारले प्रभावित क्षेत्रका लागि आर्थिक र भौतिक राहत घोषणा गरेको छ । रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ र प्रभावित १५ वटा पालिकालाई कुल ६ करोड ७५ लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ ।

राहत सामग्रीतर्फ ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री स्थलगत मार्गबाट पठाइएको छ भने ९ वटा हवाई उडानमार्फत पनि सामग्री ढुवानी गरिएको छ । हाल नुवाकोट, धादिङ, रसुवा र काठमाडौंका होल्डिङ सेन्टरहरूमा हजारौँ प्रभावित व्यक्तिहरूलाई आश्रय दिइएको छ ।

प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ । सञ्चारतर्फ नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ वटा टावर पुनः सञ्चालनमा आएका छन् । पहिचान हुन नसकेका शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको छ ।