भोटेकोशी बाढीले बगाएका बैंकका शाखाले गरेका थिए साढे २ अर्ब रूपैयाँ कर्जा प्रवाह,धेरै कृषि विकास बैंककाे


काठमाडौँ । २०८३ भदौ १० गते रसुवाको भोटेकोशी बाढीले १२ ओटा वाणिज्य बैंकका १७ ओटा शाखा बगाएको छ ।

कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, प्रभु बैंक र सानिमा बैंकका शाखाहरू बगाएको हो ।

यी बैंकका त्यस क्षेत्रका शाखामा कार्यरत २६ कर्मचारीहरू अझै वेपत्ता छन् ।

बाढी प्रभावित भएका बैंकका शाखाहरूले २ अर्ब ४२ करोड ८० लाख ९० हजार रूपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ, त्यसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकले कर्जा प्रवाह गरेकाे प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।

कृषि विकास बैंकले एक अर्ब ३७ करोड ७४ लाख ७ हजार रूपैयाँ त्यस क्षेत्रमा कर्जा प्रवाह गरेको थियो । यस्तै, हिमालयन बैंकले २९ कराेड ७२ लाख ९७ हजार रूपैयाँ कर्जा प्रवाह गरेकाे थियाे ।

ती शाखाहरूमा ७८ हजार २०४ खाता थिए भने ४ अर्ब ४३ करोड १८ लाख १० हजार रूपैयाँ निक्षेप सङ्कलन गरेका थिए ।

ती बैंकका शाखाहरूको भल्टमा १७ करोड २४ लाख ५७ हजार रूपैयाँ रहेको जनाइएको छ ।