काठमाडौँ । पोर्चुगलमा लामो समयदेखि बसोवास गर्दै आएका नेपाली व्यवसायी टंक सापकोटा तथा उनको परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेका छन्।
राष्ट्रिय संकटका बेला राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले सापकोटा परिवारले एकमुष्ट ५१ लाख रुपैयाँ कोषमा जम्मा गरेको पोर्चुगलस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासले सापकोटा तथा उनको परिवारले संकटको यस घडीमा देखाएको सदाशयता र सहयोगलाई प्रेरणादायी भन्दै प्रशंसा गरेको छ।
दूतावासका अनुसार सहयोग रकम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो। सापकोटा परिवारको सहयोगलाई विदेशमा रहेका नेपाली समुदायबाट राष्ट्रिय विपद्का बेला व्यक्त भएको ऐक्यबद्धताको उदाहरणका रूपमा समेत लिइएको छ।
पकोटाले सहयोगबारे जानकारी दिँदै यो रकम आफू र आफ्नो परिवारको निजी तर्फबाट प्रदान गरिएको बताएका छन्। उनका अनुसार ५१ लाख ११ हजार १५१ रुपैयाँ करिब २९ हजार युरो बराबर हो।
सहयोग सार्वजनिक गर्दै सापकोटाले भनेका छन्, “हामी संसार बदल्न सक्दैनौँ, तर संसार बदल्न सहयोग गर्न सक्छौँ।”
उनले आफ्नो परिवारले कठिन घडीमा मातृभूमि र पीडामा रहेका मानिसहरूसँग जीवनबाट प्राप्त गरेको केही अंश बाँड्न पाउनु कर्तव्यसँगै मानवता, कृतज्ञता र आत्माको सम्मान भएको बताएका छन्।
सापकोटाले आफू र आफ्नो परिवारप्रति लामो समयदेखि माया, विश्वास र सहानुभूति राख्दै आएका पोर्चुगिज नागरिक, ग्राहक, मित्र, शुभेच्छुक तथा संसारभरका सहृदयीप्रति आभार व्यक्त गरेका छन्। वर्षौँदेखि उनीहरूले आफ्नो काम, परिवार, रेस्टुरेन्ट तथा सेवामाथि राखेको विश्वासकै कारण अरूका लागि केही गर्न सक्ने अवस्थामा पुगेको उनले उल्लेख गरेका छन्।
विपद्ले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिको गम्भीर प्रभाव पनि स्मरण गराएको सापकोटाको भनाइ छ। जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिमा नगण्य योगदान भएका निर्दोष मानिस तथा समुदाय नै यसको ठूलो मारमा परिरहेको उनले बताएका छन्।
सापकोटाले आफूहरूले प्रदान गरेको रकममा कुनै ग्राहक, व्यक्ति, संस्था वा बाहिरी स्रोतबाट संकलन गरिएको रकम समावेश नभएको स्पष्ट गरेका छन्।


प्रतिक्रिया दिनुहोस्