कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा, आज नागढुङ्गा–मुग्लिङ सडक सञ्चालनमा ल्याउने तयारी


काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डको कृष्णभीरमा शुक्रबारदेखि थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ। निर्माण व्यवसायीहरूले शनिबार ट्रयाक खोलेर नागढुङ्गा–मुग्लिङ सडकखण्ड सञ्चालनमा ल्याउने तयारी गरेका छन्।

नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि तथा विज्ञहरूको रोहवरमा निर्माण व्यवसायीहरूले कृष्णभीरमा सडक खन्ने काम सुरु गरेका हुन्। निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काका अनुसार कृष्णभीरको मुग्लिङतर्फ करिब १५० मिटर क्षेत्रमा स्काभेटर गुड्न सक्ने ट्रयाक खोलिसकिएको छ भने मलेखुतर्फ करिब १०० मिटर ट्रयाक खोलिएको छ। बाँकी करिब ५० मिटर ट्रयाक शनिबार खोल्ने तयारी छ।

शुक्रबार राति न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपाध्यक्ष खड्काले रातिको समयमा समेत प्राविधिक, अपरेटर, इन्जिनियर र कर्मचारीहरू खटिएर काम गरिरहेको बताए। विपद्को समयमा नागरिकलाई सहजता प्रदान गर्न अस्थायी रूपमा भए पनि सडक व्यवस्थित बनाएर शनिबार साँझसम्म नागढुङ्गा–मुग्लिङ सडकखण्ड सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए।

“हामी अहोरात्र खटेर काम गरिरहेका छौँ। कृष्णभीरमा मुग्लिङतर्फ १५० मिटर स्काभेटर गुड्न ट्रयाक खोलिसकेका छौँ। मलेखुतर्फको खण्डमा झन्डै १०० मिटर ट्रयाक खोलिसकेका छौँ। अब ५० मिटर जति मात्रै बाँकी रहेको छ,” उनले भने, “रातिको समयमा पनि प्राविधिक, अपरेटर, इन्जिनियर र कर्मचारीहरू खटिनुभएको छ। आफ्नो ज्यानको बाजी लगाउनुभएको छ। यस्तो दुःखद् घडीमा नागरिकलाई सहजता प्रदान गर्नुपर्छ भनेर बाटो खन्ने काम गरिरहेका छौँ।”

यात्रुहरूलाई सडक बन्द रहेको अवस्थामा नआत्तिन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै उनले अस्थायी रूपमा भए पनि सडकलाई व्यवस्थित बनाएर सञ्चालनमा ल्याउने काम भइरहेको बताए। “आत्तिएर बनाउने तर दुई दिन बन्द हुने हुनु हुँदैन। अस्थायी रूपमा भए पनि राम्रो बनाउने काममा हामी लागेका छौँ। हामी २४ सै घण्टा बाटो खुलाउन लागिरहेका छौँ,” उनले भने, “विपद्को घडीमा राज्यलाई सघाउनु हामी सबैको जिम्मेवारी हो।”

गत भदौ १० गतेदेखि निरन्तर आएको त्रिशूली नदीको बाढीले कृष्णभीर, परेवाभीरलगायत विभिन्न स्थानमा सडक कटान गरी बगाएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि पश्चिम क्षेत्रबाट काठमाडौँ प्रवेश गर्ने सवारीसाधनले सास्ती व्यहोर्दै आएका छन्। सडक अवरुद्ध हुँदा खाद्यान्नलगायत अत्यावश्यक सामग्री काठमाडौँ ल्याउनसमेत समस्या भएको छ।