गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा आएको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएपछि स्थानीयको जनजीवन प्रभावित भएको छ।
पहिरोसहित आएको थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल तथा बूढीगण्डकीको बहाव बढ्दा नाम्रुङभन्दा तल जङ्गलस्थित अर्को पुल बगाएको स्थानीयले बताएका छन्। पुल बगेपछि गाउँबाट बाहिरिन र मनास्लु क्षेत्रतर्फ जानसमेत समस्या भएको छ।
बाढीले १०० किलोवाटको नयाँ जलविद्युत् आयोजना र २२ किलोवाटको पुरानो आयोजना पनि बगाएको छ। विद्युत् आपूर्ति बन्द भएपछि बत्ती, सञ्चारलगायत विद्युत्बाट सञ्चालन हुने सेवा प्रभावित भएका छन्।
पुल बगेपछि मनास्लु पदमार्ग हुँदै लार्केपास जाने पर्यटकसमेत प्रभावित भएका छन्। सयौँ पर्यटक बाटोमै रोकिएका छन्।
बाढीले राति स्थानीय चार परिवारका घरसमेत बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रभावित परिवारलाई वडाले तत्काल खाद्यान्न र कपडाका लागि प्रतिपरिवार २० हजार रुपैयाँ राहत दिने तथा गाउँपालिकाबाट थप एक लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराउने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्