काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएपछि बैकल्पिक मार्गबाट काठमाडौँ उपत्यकामा तीन दिनभित्र ८७ हजारभन्दा बढी ग्यास सिलिन्डर भित्र्याइएको छ ।
काठमाडौं उपत्यकामा एलपी ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक मार्ग प्रयोग गरी पछिल्ला तीन दिनमा ८७ हजार ८७७ ग्यास सिलिन्डर काठमाडौँ भित्र्याइएको नेपाल आयाल निगमले जनाएको छ ।
निगमले सार्वजनिक गरेको विवरणअनुसार असोज १८ गते २४ हजार ४९४, असोज १९ गते ३४ हजार १३४ र असोज २० गते २९ हजार २४९ सिलिन्डर ग्यास काठमाडौँ उपत्यका ल्याइएको हो । निगमले दैनिक औसतमा झण्डै ३० हजार सिलिन्डर ग्यास उपत्यकामा भित्रिएको जनाएको छ ।
ग्यास आपूर्तिलाई सहज बनाउन बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीस्थित उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्गमार्फत काठमाडौँ ल्याइएको छ । श्री ग्यास, साइबाबा–श्रीकृष्ण ग्यास, एभरेष्ट–सुगम ग्यास, नेपाल ग्यासलगायत उद्योगबाट ठुलो परिमाणमा आपूर्ति गरिएको निगमले जनाएको छ ।
नेपाल आयल निगमले कृष्णभीर क्षेत्रमा सडक सञ्चालन सामान्य नभएसम्म यही व्यवस्था कायम राख्ने जनाएको छ । निगमले बजारमा पर्याप्त ग्यास उपलब्ध रहेकाले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न पनि आग्रह गरेको छ । कृष्णभीरमा सडक भाएिएपछि निगमले बाहिरी जिल्लामा ग्यास भरेर काठमाडौँ भित्र्याउन अनुमति दिएको छ ।


प्रतिक्रिया दिनुहोस्