ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्,‘नेता फेरिए, हाम्रो पालो फेरिएन’


काठमाडाैँ । एकातिर कक्षाकोठाको कालोपाटी, अर्कोतिर सडकको लाम । शनिवारदेखि खाली सिलिण्डर कुर्दैछन् कक्षा ५ का मनिष बस्नेत । काठमाडौंको एउटा साँघुरो गल्लीमा बिहानै उनी ग्यास पाइने आशमा लाइनमा छन् ।

सडकको पेटीभरि सयौँ राता एलपीजी सिलिण्डरहरू फलामे सिक्री र ताल्चाले एकअर्कामा बाँधिएका छन् । मानौँ कुनै कैदीको लस्कर उभिएको होस् । त्यही लस्करको बीचमा एउटा बालक बसेका छन् । मनिष बस्नेत । उनी कक्षा ५ का विद्यार्थी हुन् ।

सामान्य दिन हुन्थ्यो भने यतिबेला मनिष विद्यालयको पोशाकमा सजिएर कक्षाकोठाको बेन्चमा साथीहरूसँग गणितका हिसाब जोड्दै वा नेपालीका कविता वाचन गर्दै हुन्थे ।

तर आज उनको दैनिकी कालोपाटीको अगाडि होइन, सडकमा लामवद्ध ग्यास सिलिण्डरको अगाडि शुरु भएको छ । कारण एउटै छ– घरको चुलो निभेको छ, र त्यो चुलो बाल्ने एउटा सिलिण्डर पाउन मनिष शनिवारदेखि सडकको यो अनन्त लाममा बस्न बाध्य छन् । 

“ग्यास छैन । ग्यास पाएन । ग्यास छैन भनेकाले स्कुल नि जान पाएन । १ दिनको छुट्टी लिएर यहाँ आएको छु । अब ग्यास आएन भने फेरि मेरो ग्यासको पछाडिको मान्छेले आफ्नो अगाडि लान्छन् । ग्यासको नि अभाव छ । यो जुन नेता आए नि यो ग्यासको चाहीँ लाइन बस्नुपर्ने कहिले हट्दैन । शनिवारदेखि बसिरहेको । आएको छैन । अब मंगलवारसम्म आउँछ बसिराख्नु भनेको छ । म पाँच कक्षामा पढ्छु…” मनिषका यी शब्दहरू केवल एउटा बालकको गुनासो मात्र होइनन् ।

यो देशको सिंगो राज्य संयन्त्र र नागरिकका आधारभूत आवश्यकता पूरा गर्न नसक्ने नेतृत्वमाथिको तीतो र निष्कपट झापड हो । अहिले बालबालिकाले भविष्यका सपना देख्नुपर्ने हो, नयाँ ज्ञान सिक्नुपर्ने हो । तर मनिषले सानै उमेरमा सिकिसकेका छन्, “यदि आफ्नो सिलिण्डर नहेरी एकछिन अन्तै गइयो भने पछाडिको मान्छेले आफ्नो सिलिण्डर अगाडि तानिदिन्छ ।”

अभाव र असुरक्षाले एउटा कलिलो मनलाई पनि स्वार्थ र प्रतिष्पर्धाको कठोर नियम बुझ्न बाध्य बनाइदिएको छ ।  शनिबारदेखि शुरु भएको यो पर्खाइ सोमबारसम्म आइपुग्दा मनिषको सहनशीलताको परीक्षा लिइरहेको छ । आइतबार साँझसम्म पनि डिपोको सटर खुलेन । ‘भोलि बिहानै गाडी आउँछ’ भनिएपछि मनिषले आइतबार राति आफ्ना आमाबुबासँग सल्लाह गरे ।

घरमा आमाबुबा ज्यालामजदुरी र काममा जानैपर्ने बाध्यता । यदि कोही लाइनमा नबस्ने हो भने चार दिनको पर्खाइ बालुवामा पानी बन्ने खतरा छ । अन्ततः मनिषले विद्यालयमा ‘एक दिनको बिदा’ लेखाउने निधो गरे । तर त्यो ‘एक दिनको बिदा’ अहिले अनिश्चित बनेको छ । एक दिनको बिदा अब चार दिनको गैरहाजिरीमा बदलिँदै छ । मनिषको कापीमा शिक्षकले दिएका प्रश्नहरू अनुत्तरित छन्, जस्तै अनुत्तरित छन् ती सरकारी मन्त्री र आयल निगमका हाकिमहरू, जसले सिंहदरबारको वातानुकूलित कोठाबाट माइक फुक्दै भन्छन्–‘बजारमा ग्यासको कुनै अभाव छैन, एक हप्तामा सबै सामान्य हुन्छ, कोही लाइन बस्नु पर्दैन ।’

‘बजारमा ग्यासको अभाव छैन, उपभोक्ता आत्तिनु पर्दैन’शनिबारदेखि सोमवारसम्म लाइन बस्दा पनि सिलिण्डर हात परेको छैन । सयौँ मिटरसम्म सिलिन्डरलाई सिक्री–ताल्चाले बाँधेर बालबालिका समेत पहरा दिन विवश छन् । ग्यास नपाउँदा विद्यालय जाने बालबालिकाको पढाइ छुटिरहेको छ । मंगलवारसम्म ग्यास आउला वा नआउला, त्यो त समयले बताउला ।

तर केही थान ग्यासका सिलिण्डर आए पनि मनिषको यो खोसिएको सोमवार कहिल्यै फर्किने छैन । उनको मस्तिष्कमा कोरिएको यो अविश्वासको घाउ कुनै सरकारी वक्तव्यले पुछ्न सक्नेछैन । जब देशको भविष्य मानिएका बालबालिकालाई कक्षाकोठाबाट तानेर ग्यासको लाममा उभ्याइन्छ, तब कुनै पनि देश ‘समृद्ध’ हुन सक्दैन । –न्युज एजेन्सी नेपाल