काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई नेपालको इतिहासकै गम्भीर र रहस्यमय घटनाका रूपमा चित्रण गर्दै त्यसको बहुआयामिक अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।
भदौ २४ को घटनाको स्मरण गर्दै दाहालले सयौँ वर्षमा निर्माण भएका ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय, सरकारी संरचना तथा निजी भवनहरू केही घण्टामै ध्वस्त पारिएको बताए ।
उनले नेपालको राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक आन्दोलन र नेपाली जनताको आकांक्षामाथि भएको यस्तो स्तरको प्रहारको गहिरो अध्ययन आवश्यक रहेको बताए । दाहालले घटनाको वास्तविक दोषी र विध्वंस मच्चाउने तत्वको पहिचान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।
उनकाअनुसार घटना भएको एक वर्ष बितिसक्दा पनि त्यस दिशामा अपेक्षित काम हुन सकेको छैन । उनले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनको दिशामा अघि नबढेको आरोप लगाए । आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुको साटो दराजमा थन्क्याउने काम भएको उनको भनाइ छ ।
दाहालले भदौ २३ गते युवाहरूले सुशासन र पारदर्शिताका लागि उठाएको आवाज र त्यसको भोलिपल्ट भएको घटनाक्रमलाई फरक ढंगले बुझ्नुपर्ने बताए । उनकाअनुसार भदौ २४ को घटनाले युवाहरूको भावना र आकांक्षालाई प्रतिनिधित्व नगरी भदौ २३ को आन्दोलनलाई अपहरण र कब्जा गर्ने शक्तिको हालीमुहाली देखाएको छ ।
‘भदौ २४ को घटना रहस्यमय छ’ भन्दै दाहालले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयामसमेत रहेको बताए । उनले वर्तमान भू–राजनीतिक परिवेशलाई समेत ध्यानमा राख्दै घटनाको अन्तर्राष्ट्रिय आयामबाट समेत अध्ययन र अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याए । राष्ट्रिय दृष्टिकोणबाट सुरक्षा निकायको भुमिका, राजनीतिक नेतृत्वको भुमिका लगायत घटनासँग जोडिएका सबै पक्षबारे गहिरो अनुसन्धान हुनुपर्ने दाहालको भनाइ छ ।
दाहालले नेपालको इतिहासमा एकै दिन यति ठूलो विध्वंस नियोजित रूपमा भएको अर्को उदाहरण आफूलाई थाहा नभएको बताए । उनले अहिलेको अवस्थालाई नेपालको राष्ट्रिय स्वाधीनतामाथि सुगौली सन्धिपछिको सबैभन्दा ठूलो संकटका रूपमा समेत व्याख्या गरे ।
उनकाअनुसार पछिल्लो घटनाक्रमले नेपाली जनताको आत्मनिर्णयको अधिकार खोसिएको अनुभूति गराएको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानमाथि निरंकुशताको प्रहार भएको र भदौ २४ को घटनाक्रमले संविधानलाई कमजोर बनाएको उनले बताए । दाहालले घटनाको बहुआयामिक अध्ययन तथा अनुसन्धान गरी दोषी पहिचान गरेर कुनै आग्रह–पूर्वाग्रहबिना कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरे ।
संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतालाई अझ सुदृढ बनाउन देशका सबै राजनीतिक शक्ति, देशभक्त तथा आम नेपाली जनता एक भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्