दशैँअघि नै सार्वजानिक सवारीमा प्रविधिमैत्री जिपिएस लागू गर्ने तयारी गर्दैछौँः महानिर्देशक पोखरेल


काठमाडाैँ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले दशै अगाडी नै सार्वजनिक सवारीसाधनमा प्रविधिमैत्री ‘जीपीएस’ लागू गर्ने बताएका छन् । 

यातयात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी आयोजना गरेको छलफल कार्यक्रममा उहाँले सार्वजनिक यातायातमा प्रयोग हुने जीपीएसलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने तयारी भईरहेको बताएका हुन् ।

दशैंअघि नै आवश्यक सूचना जारी गर्ने उनको भनाइ छ । उनकाअनुसार हाल जीपीएसको गुणस्तर, मूल्य, प्रणालीसँगको समायोजनलगायत प्राविधिक विषय अध्ययन भइरहेको छ ।

उनले सामाजिक सुरक्षालाई यातायात क्षेत्रका मजदुरका लागि अनिवार्य बनाउने विषयमा समेत कानूनी प्रक्रिया अघि बढिरहेको जानकारी दिए ।

सामाजिक सुरक्षासम्बन्धी विषय आगामी ऐनमा समेटिने उनको भनाइ छ । उनले सार्वजनिक यातायातको सुरक्षा, यातायात मजदुरको सुरक्षा र यात्रुको सुविधा सुनिश्चित गर्न राज्य, यातायात व्यवसायी र मजदुरले समन्वय गरेर काम गर्नुपर्ने बताए ।

हाल देशभरका प्रमुख सडकको अवस्था जर्जर रहेको भन्दै उहाँले बाढीपहिरोका कारण राजमार्गमा थप समस्या देखिएको उल्लेख गरे । काठमाडौँ बाहिरिने राजमार्गलाई तत्काल सञ्चालनयोग्य बनाउन सडक विभागलाई आवश्यक निर्देशनका लागि भौतिक पूर्वाधार मन्त्रालयमा लेखी पठाउने जानकारी दिए ।

उनले दशैं–तिहारको समयमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन पनि उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमार्फत पहल गर्ने पनि बताए ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा भाडादर समायोजनको विषय सहज हुने भएपनि चाडपर्वका बेला मूल्यवृद्धि भएमा त्यसको प्रत्यक्ष असर यात्रुमाथि पर्ने उनको भनाइ छ ।

उनले अग्रिम टिकट बुकिङ तत्काल खोल्न उपयुक्त नहुने बताए । आगामी चार–पाँच दिनको मनसुन अवस्था हेरेर त्यसपछि मात्रै अग्रिम टिकट खुलाउने विषयमा निर्णय गरिने उनको भनाइ छ ।

उनले दशैँ–तिहारका लागि सञ्चालन हुने सार्वजनिक सवारीको भेहिकल फिटनेस टेस्ट सर्टिफिकेट (भीएफटीसी) अनिवार्य रूपमा जाँच गर्ने बताए ।

सवारीसाधनको वास्तविक अवस्था परीक्षण नगरी रुट परमिट वा फिटनेससम्बन्धी कागजात दिने प्रवृत्ति रोक्नुपर्ने उनको भनाइ छ । यात्रु सहायता कक्ष, भाडादर स्पष्ट रूपमा सार्वजनिक गर्ने, यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउने तथा यातायातसम्बन्धी जनचेतना बढाउने विषयमा समेत विभागले काम गर्ने उनले बताए ।