काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्राविधिक समस्या आएपछि सेयर कारोबार रोकिएपछि यसबारे नेपाल धितोपत्र बोर्डले नेप्सेसँग स्पष्टीकरण र सुधारको योजना माग गरेकाे छ । बार्डले असोज १२ गतेभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
बोर्डका अनुसार सेयर दलालको काम गर्न अनुमति पाएका ९२ कम्पनीमध्ये ७२ कम्पनीको सर्भर राखिएको डाटा सेन्टरमा असोज ४ गते आइतबार बिहानदेखि समस्या देखिएपछि साेमबारकाे काराेबार स्थगन गरिएको हो।
घटनालाई बोर्डले गम्भीर रूपमा लिएको छ। नेप्सेले कारोबार किन रोकिन पुग्यो भन्ने अध्ययन र जाँचबुझ गरी, भविष्यमा यस्तो समस्या नदोहोरिने सुधारका उपायसहित प्रतिवेदन बुझाउनुपर्ने बोर्डले जनाएको छ।
नेप्सेबाट जानकारी पाउनेबित्तिकै बोर्डले समस्या पहिचान गर्न र कारोबार रोक्नुपरेको कारण पत्ता लगाउन बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाएको छ।
बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यो टोलीले दिने सुझावका आधारमा धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित र पारदर्शी बनाउन थप काम गरिनेछ। यसबारे सम्बन्धित सबै पक्षलाई जानकारी गराइने बोर्डले बताएको छ।


प्रतिक्रिया दिनुहोस्